जिल्लामा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, नेपाली सेना, शिक्षक, बैंकका कर्मचारीहरु सहित फ्रन्टलाईनमा काम गर्नेहरुमा संक्रमण देखिएको छ ।
सिन्धुली । जिल्लामा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या जिल्लाको सबैभन्दा बढी संक्रमित भएको संख्या हो । संक्रमित हुनेहरु अधिकांश फ्रन्टलाईनमा रहेर काम गर्नेहरु रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिएका छन ।
जसमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, नेपाली सेना, शिक्षक, बैंकका कर्मचारीहरु लगाएत रहेका छन । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ पुगेको छ भने जम्मा संक्रमितको संख्या १ सय ३३ जना पुगेको छ ।

चार बैंक र मालपोत कार्यालयको सेवा बन्द
जिल्लामा फ्रन्ट लाईनमा काम गर्नेहरुमा संक्रमण देखिए पछि जिल्लाका ४ बैंक र मालपोत कार्यालय सिन्धुली शिल गरिएको छ । सिद्धार्थ बैंक, मेगा बैंक, एनआइसि एसिया बैंक र सहकारी बैंकको काम काज अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको हो ।
मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी एवम् नायव सुब्बा पुरुषोत्तम दाहाललाई कोरोना संक्रमण देखिए पछि मालपोत कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।
मालपोत कार्यालयले सार्वजनिक सूचना जारी गरि अन्य कर्मचारी समेत विरामी भएकाले कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि नखुल्ने जानकारी गराएको छ । दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए ।





















