सिन्धुली । सिन्धुलीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. १० का १९ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
भारतबाट आएर कमलामाई नगरपालिका वडा नं. १० मा रहेको क्वारेन्टाईनमा बसेका युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
उनीसँगै सिन्धुली जिल्लामा कोरोना संक्रमण देखिएकाको संख्या ५ पुगेको छ । सिन्धुलीबाट जाँचका लागि पठाईएका स्वाव मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने काठमान्डौमा परिक्षण गर्दा सिन्धुली ठेगाना भएका एकजनामा कोरोना भाईरस पुष्टि भएको थियो ।
शाहका अनुसार उनलाई आइतबार विहान सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइने भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले जानकारी दिएका छन ।
उनीसँगै कमलामाई नगरपालिकाका विभिन्न क्वारेन्टाईनबाट ४१ जनाको स्वाव संकलन गरि नमुना पठाईएको थियो । अन्य ४० जनाको रिपोर्ट भने नेगेटिभ आएको शाहले बताए ।





















