रविन्द्र भट्टराई
‘एक सयले एक छाक तरकारी पनि आउदैन, माछा मारे खान त पाईन्छ, भन्ने दुधौली नगरपालिका वडा नं. ११ का कन्जनलाल अधिकारी (४२) भने यतिबेला दिक्क मान्न थालेका छन । विगत ३० वर्ष देखि कमला नदीमा माछा मार्दै आएको उनले भन्छन, ‘माछा मारेर नुन भुटुनको जोगो गर्ने गरेको थिएँ । अहिले खोलामा माछा नै पाइन छोडे ।’ खेतिको सिजनमा खेति गर्ने र अरु समयमा माछा मार्ने यहाँका दनुवार समुदायका अधिकांशले कमला नदिमा पहिलेको जस्तो माछा नभएको बताउने गरेका छन् ।
उनी जस्तै विहान र वेलुका कमला नदिमा माछा मार्ने ‘जाल’ र माछा हाल्न बासले बनेको ‘गेद्रा’ बोक्ने दनुवारहरुको दैनिकी पनि यतिबेला फेरिन थालेको छ । अति सिमान्तकृत समुदायमा पर्ने दनुवारहरुले असारदेखि मंसिरसम्म खेति गर्ने र अन्य समयमा माछा मार्ने गर्थे ।
बुवासँगै माछा मार्न जाँदाजादै पुख्र्यौली पेशा सिकेका दुधौली ९ का सञ्जिव अधिकारी दनुवार (४६)ले यहि पेशाबाट ७ जनाको परिवार पाल्दै आएका थिए । अब भने नदीमा माछा पाइन कम भएपछि जीवीका धान्न गाह्रो हुन थालेको छ । सन्जिव भन्छन, ‘करेन्ट लगाएर माछा मार्न थालेपछि यस्तो अवस्था भएको हो । मेरो परीवार नै माछामा चलेको थियो ।’ सन्जिवले थपे, पहिले २ देखि ४ किलोसम्म माछा मार्न सकिन्थ्यौँ आजभोली १, २ किलोसम्म सकिन्छ । यस्तो भएको एक वर्षजति भयो ।’
सञ्जिव थप्छन, छोराछोरीलाई पढाउन कपि,कमल, किताव माछा बेचेकै पैसाले किन्दिन्थें अहिले माछा पाउनै छोड्यो । माछा मारेर खर्च धान्न नसकेपछि अरु नै काम खोज्ने गरेको पनि उनले बताए । उनी भन्छन, ‘करेन्ट लगाएर माछा मार्नेलाई कारवाहि हुन्छ भन्थे, मैले पो गलत सुनेछु की के हो ?’
खोलामा करेन्ट लगाउने र विषादी हाल्ने प्रवृति बढेपछि कमला नदीमा माछा पाइन छाडेको दनुवार समुदायको भनाई छ । जसका कारण दनुवारको आम्दानीको मुख्य श्रोत माछा मार्ने पेशा यतिबेला लोप हुन थालेको छ । करिब २० हजार जनसंख्या रहेको दनुवार समुदायमध्ये ८५ प्रतिशतले पेशा नै परिवर्तन भएको स्थानीयहरु बताउँछन ।
सिन्धुलीको दुधौली नगरपालिकामा दनुवार समुदायको बसोवास धेरै छ । पहिले भन्दा अहिले दनुवार समुदाय जिम्मेवार पदमा समेत पुगिसकेका छन् । केहि समुदाय आम्दानीको स्रोत नपाएर छटपटाएका छन । यस विषयमा सरकारको ध्यान जान नसकेको स्थानीय सरोकारवालाको भनाई छ ।



















