सिन्धुली । सिन्धुलीमा ३३ औं मदन आश्रित स्मृति दिवस मनाईएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा रहेको आजाद स्मृति भवनमा स्मृति दिवस मनाएको हो । दिवसको अवसरमा तत्कालिन जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानको स्मरण गरिएको थियो ।
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूले मदन आश्रितको तस्वीरमा माल्यार्पण गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सल्लाहकार शंकरनाथ शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दनुवारले दासढुंगा घटनाबारे हालसम्म पनि अनुत्तरित रहेको बताए । उनले मदन आश्रितको दुर्घटना भएको वा हत्या भएको अहिलेसम्म पत्ता नलागेको र वास्तविक कुरा पत्ता लाग्ने आशा नमरेको बताए । उनले नेपाली कम्युनिष्ट आन्दोलन तथा बहुदलीय जनवाद स्थापनामा मदन आश्रितले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सल्लाहकार शर्माले मदन र आश्रितको योगदानले नै पार्टी जीवित रहेको जिकिर गरे । उनीहरुको योगदानको स्मरण गर्दै शर्माले कम्युनिस्ट पार्टीको मूलधार परिवर्तन मदन भण्डारीले गरेको समेत बताए । शर्माले एमालेका नेता कार्यकर्तालाई एकजुट भएर अगाडि बढेर पार्टी बलियो बनाउन आग्रह गरे ।






















