सिन्धुली । लकडाउनको कारण देखाउँदै कमलामाई नगरपालिकाको कृषि उपज तथा तरकारी बजारका व्यवसायीले महंगोमा तरकारी बेचेको र हालको विषम परिस्थितिमा तराईबाट मात्र नभई भारतीय सिमा क्षेत्रमा पुगेर भारतीय तरकारी भित्राएको पाईएपछि कमलामाई नगरपालिका वडा नं. ६ का केशव नेपालीले सस्तो घुम्ति पसल सुरु गरेका छन । उनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट पास लिई सोमबारदेखि घुम्ति पसल सुरु गरेका हुन ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिन र मुल्य समायोजन गर्न नगरपालिकाले व्यवसायीहरुलाई पटक पटक अनुरोध गरे पनि मुल्य समायोजनमा तरकारी व्यवसायीहरुले सहमति जनाएका थिएनन । व्यवसायीलाई नगरपालिकाले बैशाख २५ गते चारदिन भित्र खरिद विक्री दर ल्याउन अनुरोध समेत गरेको थियो । उक्त दररेट समेत नगरपालिकामा व्यवसायीहरुले दिएका थिएनन ।
नगरपालिकाले किसानहरुलाई समेत थोक विक्री मुल्यमा एकरुपता ल्याउन र उत्पादनको बजारीकरणका लागि छलफल चलाएको थियो । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले भने व्यवसायीहरुले नगरपालिकाले तरकारीको घुम्ति पसल सञ्चालन गरेको भनि लगाएको आरोपलाई स्वीकार गरेका छैनन । ‘कमलामाई नगरपालिकाले तरकारी बेच्न थालेको हैन, तरकारी व्यवसाय गर्ने व्यक्ति कार्यपालिका सदस्य भएकाले नगरपालिकालाई आक्षेप आएको हो’, खत्रीले भने ।
‘नगरपालिका कार्यालय अगाडी तरकारी बेचेको देखेर व्यवसायीले नगरपालिकाले गरेको भनेका होलान् त्यसो होइन’, मेयर खत्रीले भने । केशव नेपालीले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर तरकारी बेचेको र नगरपालिकाले कुनै पनि पास नदिएको खत्रीले बताए । ‘जनप्रतिनिधिले पनि व्यक्तिगत रुपमा व्यवसाय गरेर खान पाउँछन, उपभोक्ताले सस्तो मुल्यमा तरकारी खान पाउनु झन राम्रो कुरा हो, यसमा केको विरोध ?’ उनले भनेका छन ।
यता उपभोक्ताले भने तरकारी बजारको भन्दा आधा सस्तो मुल्यमा जिल्लाकै तरकारी खान पाएको बताएका छन । सस्तोमा घरदैलोमै तरकारी किन्न पाउँदा उनीहरुले खुशी व्यक्त गरेका हुन । स्थानीय उपभोक्ताले बजारमा सस्तो तरकारी पाईने भन्दै जानकारी गराउँदै समेत हिडेका थिए ।




















