सिन्धुली । क्रियाशिल पत्रकार महिला सिन्धुलीका संस्थापक अध्यक्ष बिमला पाण्डेले सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको सक्रिय सहभागिता र विभिन्न लैंगिक सम्वेदनशिलताका अन्तक्र्रिया तथा छलफलले मिडिया लैंगिक विषयमा संवेदनशिल भई कलम चलाईरहेको बताईन । उनले महिला तथा बालबालिकाका समाचारलाई स्थानिय मिडियाले प्राथमिकता दिई सकारात्मक विषय उठान गरिरहेको र महिला पत्रकारहरुको सहभागिता पनि उल्लेख्य वृद्धि भईरहेकोे बताएकी छिन ।
मंगलबार क्रियाशिल पत्रकार महिला सिन्धुली र ओरेक नेपाल सिन्धुलीले संयुक्त रुपमा आयोजना गरेको लैंगिक संवेदनशिलताको लागि पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।
नेपाल पत्रकार महासंघ सिन्धुलीको उपाध्यक्ष समेत रहेकी उनले पत्रकारितामा महिलाको उपस्थिति र नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिताले पनि लैंगिक मुद्दाले प्राथमिकता पाउने विश्वास व्यक्त गरिन । उनले विगतका तुलनामा महिलाका मुद्दाहरु उठाउने तरिकामा सकारात्मक परिवर्तन आएको बताइन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव विदुर पौडेलले लैगिक मुद्दाहरु उजागर गर्ने र न्याय माग्ने संस्कृतिको विकास भएको बताए । उनले लैंगिक मुद्दा उठानका कारण सचेतना वृद्धि भएकाले न्याय सम्पादनको दायरा समेत वृद्धि भएको बताउँदै लैंगिक मुद्दामा अझ विश्लेषणको आवश्यकता रहेको बताएका छन ।
कार्यक्रममा प्लान नेपालका बालिका युवा शसक्तिकरण प्रमुख हेम पौडेलले मिडियामा व्यवसायीकीकरण र संवेदनशिलता बढेको पाईएको बताए । उनले मिडिया हाउसले लैंगिक र बाल संरक्षण नीति बनाएमा अझ प्रभावकारी हुने बताए ।
कार्यक्रममा बोल्दै क्रियाशिल पत्रकार महिला सिन्धुलीका निवर्तमान अध्यक्ष सुजता लामाले पत्रकारिता गर्नेहरुले आफ्नो पेशालाई संवेदनशिल पेशाका रुपमा लिई काम गर्नुपर्नेमा जोड दिईन । क्रियाशिल पत्रकार महिला सिन्धुलीका अध्यक्ष कृञ्जला पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा ओरेकका सपना थापाले स्वागत गरेकी थिइन भने युएनएफपीएका प्रेम खड्काले सहजीकरण गरेका थिए ।





















