सिन्धुली । प्रतिनिधिसभा सदस्य एवम् पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले समय सापेक्ष पुस्कालय र साहित्यमा परिवर्तन आउनुपर्ने बताएका छन । उनले सिन्धुलीमाढीमा बुधबार भएको स्मृति साहित्य विमोचन तथा जनसेवा पुस्तकालयको अवलोकन कार्यक्रममा उक्त कुरा बताएका हुन । गजुरेलले साहित्यको सम्मानका साथै पुस्तक पढ्ने बानीको विकासका लागि समय अनुसार पुस्तकालयको व्यवस्थापन जरुरी रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग बहादुर खत्रीले साहित्यीक स्रस्टाहरुको सृजना अनुसारको व्यवहार र जिम्मेवारी हुनुपर्ने बताए ।
जनसेवा पुस्तकालयका अध्यक्ष एवम् स्मृति पत्रिकाका प्रधानसम्पादक शेषराज दाहालको अध्यक्षता एवम् प्रतिनिधिसभा सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वर्द बहादुर गणका गणपति राजीव थापा, नेकपा सिन्धुलीका प्रतिनिधि प्रलाद पोखरेल, नेपाली कांग्रेसका प्रतिनिधि माणिक ढकालको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा स्मृतिका सहसम्पादक खडानन्द तिमल्सीनाले राज्यको तर्फबाट स्रष्टाहरुलाई यथोचित सम्मान गरिनुपर्ने धारणा राखेका थिए भने स्रष्टाहरु सहसम्पादक धनमाया राइ र बाबुराम फुयालले साहित्यीक सृजना प्रस्तुत गरेका थिए ।
स्मृति पत्रिकामा साहित्यीक रचना उपलब्ध गराउने स्रष्टाहरुलाई डायरी, डट्पेन र फूलमालाले सम्मान गरिएको थियो । कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष कृष्ण गौतमले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव माधव देवकोटा र स्मृति पत्रिकाका कार्यकारी सम्पादक शारदा पहाडीले गरेका थिए । कार्यक्रमका अवसरमा पुस्तकालयको अबलोकन समेत गरिएको थियो ।




















