सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । युवकको यौन प्रस्ताव अस्वीकार गर्दा विहिबार दिउँसो उनको ज्यान गएको हो । मरिण गाउँपालिका वडा नं. १ आहालेकी १३ वर्षिय छलिमाया मोक्तानको एक १५ वर्षिय युवकले हत्या गरेका हुन ।
गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी बालिकाको पिछा गरेका ती युवकले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेको पाईएको छ । बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिचि हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले बताए ।

उनका अनुसार ती युवकले आफुल राखेको यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी निमोठेको र बालिका लडेपछि पुनः थिचेर हत्या गरेको स्वीकार गरेका छन ।
युवकलाई शनिबार मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको छ ।
परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए । बालिकाको शव सिन्धुली अस्पतालमा शनिबार नै पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको उनले बताए ।
बालिकासगै ती युवा गएको देखेका स्थानीय व्यक्तिले जानकारी दिएपछि युवकलाई प्रहरीले खोजी गरेको थियो । काठमान्डौको होटलमा मजदुरका रुपमा काम गर्ने ती युवाले बालिकासँग यस अघि पनि यौन सम्बन्ध राखेको बताएको प्रहरीले जनाएको छ । युवकलाई २०७६ असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।




















