सिन्धुली । कमलामाई नगरपालिका कार्यरत शिक्षकहरुलाई सूचना प्रविधी सम्बन्धी पाँच दिने तालिम बिहिबारबाट सिन्धुलीमा सुरु भएको छ ।
शैक्षिक तालिम केन्द्र धुलीखेलको आयोजना र कमलामाई नगरपालिकाको समन्वयमा सिन्धुली सदरमुकाम स्थित कमला मावि, ढुंग्रेवासको सभाहलमा ५ दिने सूचना प्रविधि सम्बन्धी तालिम बिहिबार देखी शुरु भएको छ ।
कमलामाई नगरपालिका अन्तर्गत कार्यरत माध्यमिक तह र आधारभूत तहका ४० जना शिक्षकहरु सहभागी रहेको उक्त तालिम कार्यक्रम उद्घाटन डिजिटल क्लिक गरी कमलामाई नगरपालिकाको मेयर श्री खड्गबहादुर खत्रीले गरे । तालिम उद्घाट्न गर्दै नगरप्रमुख खत्रीले भने– अहिलेको एक्काइसौं शताब्दीका शिक्षकहरु डिजिटल प्रविधिबारे सुुसूचित हुन आवश्यक छ । अव परम्परागत घोकन्ते र निरशीलो शिक्षण सिकाइबाट युग अनुकूलका जनशक्ति उत्पादन गर्न सकिदैन ।
उनले थपे – शिक्षकहरुले सूचना र प्रविधिलाई आफ्नो कक्षा शिक्षणमा समुचित प्रयोग गरी सिकारुको सिकाई स्तर बृद्धि गर्न क्रियाशील हुन सकेमात्र तालिमले राखेको अपेक्षा पुरा हुन सक्छ । अव शिक्षकहरु तालिममा आउँदा आफ्नो विषयको सिकाइ स्तर कस्तो छ र तालिम लिएर विद्यालयमा फर्किसकेपछि उक्त मौजुदा सिकाइ स्तरमा सुधार हुन सक्यो कि सकेन भनेर नगरपालिकाले अनुगमन गर्ने भएकोले तालिममा सिकेको कुरा कक्षा शिक्षणमा प्रतिविम्बन हुनुपर्ने भन्ने कुरामा समेत मेयर खत्रीको जोड रहेको थियो ।
उनले अगाडि थपे – तालिम केवल भत्ता पचाउनका लागि या औपचारिकता निभाउनका लागि मात्र नभएर सिकारुको सिकाइ स्तर बृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ।
जेठ २० गते सम्म ५ दिन सञ्चालन हुने ICTसम्बन्धी उक्त तालिम उद्घाटन समारोहको सञ्चालन शिक्षक रामेश्वर दाहालले गरेका थिए भने तालिमको सहजीकरण जगतवबहादुर आले मगरले गरिरहेका छन् । उद्घाटन समारोहमा शिक्षाविद् डा.हरिप्रसाद पोखरेल र कमला माविका प्रअ कमलेश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






















