सिन्धुली । प्रहरीले विहिबार विपी राजमार्ग र मदनभण्डारी राजमार्गको संगम भिमान चेकपोष्टबाट खैरो हिरोईन सहित पाँच जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका वडा नं. ९ मा रहेको भिमान चेक पोष्टमा चेकजाँच गर्ने क्रममा खैरो हिरोईन सहित पाँचजना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले गरेको सघन सवारी चेकजाँचका क्रममा विभिन्न सवारी साधनमा खैरो हिरोईन ओसारपसार गर्ने पाँच जना पक्राउ परेका हुन् । प्रहरीले ५९१ ग्राम ४४ मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठका अनुसार सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–०१७७ख०१ नम्बरको हायसबाट सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ४ का २९ वर्षीय रुपेश ठाकुरको साथबाट ३१ ग्राम २९० मिलिग्राम खैरो हिरोईन बरामद गरेको छ । उनको शरीर खानतलासी गर्दा उनले लगाएको कालो पाइन्टको पछाडिको दायाँ गोजीमा सेतो प्लास्टिकभित्र लुकाइ राखिएको लागु औषध फेला पारेको हो ।
उक्त घटनामा सोही स्थानका ३० वर्षीय सुरज राज धामीलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ । धामीको साथबाट प्रहरीले एक लाख नगद समेत बरामद गरेको छ ।
त्यसैगरी जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म.प.००९–०२ प्र.नं.०९८४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा पछाडि सवार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ निवासी १७ वर्षीय मनिष यादवलाई क्याप्टेन चुरोटको बट्टाभित्र पहेँलो प्लास्टिकमा प्याक गरिएको ५६० ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको छ । यादवले बोकेको कालो झोलाभित्र रहेको सेतो पाइन्टको अगाडिको दायाँ गोजीमा राखेको खैरो हिराईन बरामद गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रवि यादव र मनिष यादवलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान सुरु गरिएको जनाएको छ ।
यस्तै झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख२४९० नम्बरको हायसका चालक उदयपुरको त्रियुगा नगरपालिकाका मोहन बुढाथोकीमाथि शंका लागेपछि गरिएको खानतलासीका क्रममा १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बुढाथोकीले लगाएको निलो पाइन्टको अगाडिको गोजीमा रहेको पाइलट चुरोटको बट्टाभित्र निलो प्लाष्टिक र कागजमा बेरेर राखिएको लागु औषध प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय भिमानमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।





















