सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ मा रहेको चन्द्रावती माध्यमिक विद्यालय, बेलघारीमा शुक्रबार शैक्षिक शिक्षण सामग्री प्रदर्शनी गरिएको छ ।
प्लान इन्टरनेशन नेपालको सहयोग, तिनपाटन गाउँपालिकाको समन्वय तथा जनजाती समाज विकास कार्यक्रम सिन्धुलीको आयोजनामा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी गरिएको हो ।
विद्यार्थीहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित सम्बन्धि ज्ञान, सीप र सिर्जनशीलता विकास गर्ने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा पाटनदेवी मावि कोटगाउँ, सरस्वती मावि हिलेपानी र चन्द्रावती मावि बेलघारीका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री, वैज्ञानिक नमुना, सिर्जनात्मक परियोजना तथा स्थानीय स्रोत र साधनको प्रयोगबाट तयार गरिएका सामग्रीहरू प्रदर्शनी गरेका थिए ।
प्रदर्शनी अवलोकन गर्नेहरूले विद्यार्थीहरूको सिर्जनशीलता र मेहनतको प्रशंसा गर्दै यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
प्रर्दशनीमा चन्द्रावती मावि बेलघारी पहिलो, सरस्वती मावि हिलेपानी दोस्रो, र पाटनदेवी मावि कोटगाउँ तेस्रो भएको छ । कार्यक्रममा सहभागि विद्यालयहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै चन्द्रावती माध्यमिक विद्यालयकाका प्रधानाध्यापक चेत बहादुर तामाङले विद्यालयले सिर्जनात्मक तथा व्यवहारिक सिकाइमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दा विद्यार्थीहरूको क्षमता विकास हुने बताए ।





















