सिन्धुली । आइतबार जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत बौद्धिक अपांगता भएका सत्ताइस जना विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । एमआईटी एजुकेशन सेन्टर सिन्धुलीको प्रथम स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा स्टेशनरी वितरण गरिएको हो ।
उक्त अवसरमा स्कुल ब्याग, कपी, कलम लगाएतका सामान वितरण गरिएको हो । एमआईटि एजुकेशन सेन्टरका प्रमुख मिलन थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै देवकोटाले शिक्षालाई विज्ञान र प्रविधिसँगै जोडेर लैजानु पर्नेमा जोड दिइन् ।
उनले अहिलेको समय प्रविधिको रहेको बताउँदै प्रविधियुक्त शिक्षाको आवश्यकता रहेको बताएकी हुन । प्रविधिमैत्री शिक्षाको लागि स्थानीय सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाएकी छिन् ।
त्यस्तै कमलामाई नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख नवराज बरालले सरकारले शिक्षामा लगानी गरे तापनि प्रविधियुक्त शिक्षा प्रदान गर्न नसकेको बताउँदै यस्ता संस्थाहरुले पर्याप्त शिक्षा प्रदान गर्न सकेको बताए । भाषा, कम्युटर शिक्षा र जीवन उपयोगी शिक्षा सिके भविष्य निर्माण गर्न सकिने बताए ।
एमआईटी एजुकेशन सेन्टर सिन्धुलीका कार्यालय प्रमुख मिलन थापाले जिल्ला कै उत्कृष्ट प्रविधियुक्त शिक्षा प्रदान गर्न सकेको उक्त अवसरमा दाबी गरेका छन् ।
त्यस्तै एमआईटी एजुकेशन सेन्टर सिन्धुलीका प्रवन्ध निर्देशक सुधा परियारले वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले शिक्षामा मात्र नभएर समुदाय स्तरसम्म सकारात्मक योगदान गरेको बताइन् । जिल्लाभरी विभिन्न ठाउँमा सामाजिक तथा खेलकुद क्षेत्रमा गरेको योगदान त्यस संस्थाको समन्वय तथा साझेदारीमा भएका कार्यक्रम, संस्थाको समग्र प्रभाव र उपलब्धिका साथै संस्थाको दृष्टिकोण र आगामी योजनाहरुको बारेमा जानकारी दिएकी थिइन् ।
वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीलाई नगद सहित प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियोे । हाल संस्थाले अंग्रेजी भाषा, जापनिज भाषा, कोरियन भाषा र कम्प्युटर कक्षा सञ्चालन गरिरहेको छ । यसका साथै आयल्स तथा पिटिइ कक्षा, डिजिटल मार्केटिङ र कम्प्युटर ट्रेडिङको कक्षा समेत सञ्चालन गरिरहेको छ ।























