सिन्धुली । सिन्धुलीका तीन दल सम्बद्ध महिला संगठनहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने गरि कानुनमा संशोधन गर्न मस्यौदा विद्येयक तयार गर्नु दुःखद रहेको बताउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
नेपाल महिला संघ सिन्धुली, अखिल नेपाल महिला संघ सिन्धुली र अखिल नेपाल महिला संघ –क्रान्तिकारी) सिन्धुलीले संंयुक्त रुपमा बुधबार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल मार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा मन्त्रालयले तयार गरेको मस्यौदामा लेखिएको निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने व्यवस्थाले महिलालाई असमानता, अपमान र उत्पीडनमा पार्ने साथै लैंगिक हिंसालाई बढावा दिने र पारिवारीक विखण्डनलाई थप मलजल गर्ने देखिएको उल्लेख छ ।
पुरुष प्रधान सोंचबाट समग्र महिलाहरुको विरुद्धमा कानुनको मस्यौदा तयार हुनु दुःखद रहेको समेत ज्ञापन पत्रमा जनाईएको छ । ‘उक्त मस्यौदा कानुनमा हामी राजनीतिक दल सम्बद्ध र अधिकारका क्षेत्रमा क्रियाशिल महिला संघगठनहरुको गम्भिर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
बहुविवाहको प्रस्तावित कानुनले महिलालाई न्याय दिने नभई अन्याय गर्ने उल्लेख गर्दै महिलाहरु विरुद्ध संसदमा पेश गर्ने गरि तयार भएको मस्यौदा विद्येयकप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । महिला संगठनहरुले विभेदपूर्ण कानुन नल्याउन माग समेत गरेका छन । यदि मस्यौदा संसदमा पेश भएमा संघर्षमा जाने समेत महिला संगठनहरुले चेतावनी दिएका छन ।
ज्ञापनपत्रमा नेपाल महिला संघका सभापति गंगा दाहाल, अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष कुमारी शान्ता पाख्रिन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का सविता कोइरालाले हस्ताक्षर गरेका छन ।





















