सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ बस्तिपुरमा छाप्रोमा ओत लागेर बसेका बालबालिकाहरुलाई रुख ढलेर किच्दा शुक्रबार दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन ।
मृत्यु हुनेमा ९ वर्षिय बालक सार्की थिङ र १६ वर्षिय सन्ता गोले रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार तीनजना घाईते भएका छन । १४ वर्षिय सृजना माया भोलन, १५ वर्षिय सन्ध्या भोलन र ७ वर्षिय शुशिल थिङ घाईते भएका हुन ।
शुक्रबार दिउँसो साढे तीनबजेतिर पानी परेर ओत लाग्न छाप्रोमा गएका उनीहरुलाई रुखले किचेको हो । पानी र पहिरोका कारण सालको रुख ढलेर छाप्रोमा ढल्दा ओत लागेका २ जनाको घटनास्थलमै मृत्यु भएको हो । डिएसपी सुवेदीका अनुसार तीनजनालाई प्रहरीले उद्धार गरि उपचारका लागि पठाएको छ ।
घाईते मध्येका सृजना र सन्ध्यालाई उपचारका लागि हेटौडा लगिएको छ भने शुशिलको उपचार पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेमा भईरहेको सुवेदीले जानकारी दिएका छन । मृतकहरुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याईएको छ ।



















