सिन्धुली । कारागार कार्यालय सिन्धुलीमा रहेका कैदीबन्दीहरुले रसुवाका बाढीपीडित नागरिकहरुका लागि आर्थिक सहयोग गरेका छन् । बाढी पीडितहरुको राहत र उद्धारका लागि उनीहरुले कैदीबन्दीहरुबीच रकम संकलन गरि उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम पठाएका हुन् ।
कैदी बन्दीले एक लाख ६० हजार संकलन गरि बाणिज्य बैंक सिन्धुलीमार्फत सहयोग पठाएको कारागार कार्यालय सिन्धुलीले जानकारी दिएको छ । मंगलबार उनीहरुले सरकारको आधिकारिक कोषमा रकम जम्मा गरेका हुन् ।
विपदको घडीमा मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी भावना प्रदर्शन गर्दै कैदीबन्दीले गरेको सहयोग प्रशंसनीय रहेको कारागार प्रशासनले जनाएको छ । सिन्धुली कारागारमा ३७९ जना कैदी बन्दी रहेका छन् ।




















