सिन्धुली । सुनकोशी गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । उक्त अस्पतालको आईतबार शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ झाँगाझोली रातमाटामा अस्पताल निर्माण गरिने भएको हो ।
अस्पतालको शिलान्यास गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले गरेकी छिन् । अस्पताल भवन निर्माणका लागि १६ करोड ६३ लाख ५६ हजार ५६३ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणको काम सुवेदी की वेस्ट जेभी, मन्थली–१ रामेछापसँग सम्झौता गरिएको छ । गाउँपालिका र निर्माण कम्पनीबीच २०८२ पुस २५ गते सम्झौता भएको हो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८४ पुस २५ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।
अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले संघीय सरकारबाट वडा नम्बर ३ स्थित घोर्मादेवी कबुलियती वन र रमादेवी सामुदायिक वन उपभोक्ता समितिको ७ रोपनी २ आना जग्गा प्राप्त गरेको थियो । त्यहि जग्गामा १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालका अनुसार स्थानीय तहको पहिलो निर्वाचन २०७४ पछि नै १५ शैयाको अस्पताल निर्माणका लागि पहल सुरु गरिएको थियो । आवश्यक जग्गा उपलब्ध हुन नसक्दा लामो समयसम्म योजना अघि बढ्न नसकेको उनले बताइन् । दोस्रो स्थानीय तह निर्वाचनपछि पनि अस्पताल निर्माणलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरिएपछि अहिले भवन निर्माणको चरणमा पुगेको अध्यक्ष दाहालले बताईन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले अस्पताल भवन निर्माणको चरणसम्म योजना ल्याउन लामो प्रयास गर्नुपरेको बताए । उनले सम्झौता अवधिभित्रै निर्माण सम्पन्न गर्न र भवन निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गर्न निर्माण कम्पनीलाई आग्रह गरे । स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै सुनकोशीवासीको स्वास्थ्य सुरक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।





















