सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ४ मा रहेको कमला माविका विद्यार्थीहरुले दश वर्षकी बालिकालाई बलत्कार गर्ने व्यक्तिलाई फासीको सजाय दिन माग गरेका छन् । उनीहरुले सिन्धुलीमाढीमा ¥यालीको आयोजना गर्दै नाराबाजी समेत गरेका थिए । विद्यार्थीले बालिकाको न्यायका लागि माग गरेका छन् । उनीहरुले नाराबाजी गर्दै सिन्धुलीमाढी बजार परिक्रमा गरेका थिए भने कोणसभा समेत गरेका थिए ।
आईतबार दिउँसो कमलामाई नगरपालिका वडा नं. ४ स्थित ग्वाङ्खोलामा नुहाउन गएकी बालिकालाई बलत्कार गरेको आरोपमा २३ वर्षका युवक पक्राउ परेपछि उनीहरुले कानुन संशोधन गरि बलत्कारीलाई फासीको सजायको व्यवस्था गर्न माग गरेका हुन् ।
बालिकालाई बलत्कार गर्दै गर्दा माछा मार्न गएका व्यक्तिले देखि बालिकाको उद्धार गरि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आईतबार दिउँसो पौने १ बजेतिर घटना घटेको हो ।
एक युवकले घटना घटाएको र अर्का एक युवकले घटनाको भिडियो खिचिरहेको पाईएको स्थानीयले जनाएपछि भिडियो खिच्ने व्यक्तिका बारेमा प्रहरीले केहि उल्लेख गरेको छैन । घटनापछि उद्धार गरि बालिकाको सिन्धुली अस्पतालमा स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मा लगाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्ज्वल कार्कीले आईतबार नै प्रेस विज्ञप्ती जारी गर्दै घटनाको पुष्टि गरेका छन् ।





















