सिन्धुली । कमलामाई नगरपालिकाले बुधबार आगामी वर्षका बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औँ अधिवेशनमा उक्त बजेट सार्वजनिक गरिएको हो । उक्त अधिवेशनमा नीति तथा कार्यक्रम समेत पेश गरिएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने नगर उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्व २६ करोड ६७ लाख ८६ हजार ९९५ रुपैंया बराबरको बजेट प्रस्तुत गरिन् ।
प्रस्तुत बजेटमा नगरपालिकाले चालु तथा प्रशासनिक खर्चतर्फ २८ करोड ६८ लाख रकम विनियोजन गरेको छ । यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी, सामाजिक सुरक्षा, रोजगार पूर्वाधार लगाएतका अन्य प्राथमिकता प्राप्त क्षेत्रका लागि ६३ करोड ५४ लाख ४१ हजार रुपैंया बजेट विनियोजन भएको छ ।
उक्त बजेटमा विपद व्यवस्थापन, लैंगिक हिंसा निवारण, सार्र्वजनिक सम्पत्तिको मर्मत संहार, अनुसन्धान तथा परामर्श लगाएतका क्षेत्रमा २ करोड १६ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । नगरस्तरीय योजना तथा कार्यक्रमतर्फ ९ करोड ६४ लाख ५५ हजार ९९५ रुपैंया विनियोजन गरिएको छ ।
यस्तै विषयगत शाखाहरुका लागि ६ करोड १० लाख रुपैंया विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यस्तै लक्षित वर्गका लागि ५० लाख रुपैंया विनियोजन गरिएको छ । यस्तै प्रत्येक वडामा ८० लाख बजेट विनियोजन भएको छ ।
नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट बुधबार नै पास गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनीधि तिवारीले जानकारी दिएका छन् ।
नगरसभाले आगामी आर्थिक वर्षमा नगरवासीलाई प्रभावकारी सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





















