सिन्धुली । घ्याङ्लेख गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिकाको अधिवेशन सम्पन्न गरिएको हो । गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा ४४ करोड ९८ लाख ५६ हजार बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ । चालु खर्च तर्फ ६३ प्रतिशत अर्थात २८ करोड ३४ लाख ५६ हजार रकम विनियोजन गरिएको छ भने पूँजीगत तर्फ १६ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ ।
नीति, कार्यक्रम तथा बजेटमा स्थानीय विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सशक्तीकरणका क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ । बजेट तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरूबीच आवश्यक छलफल गरी आगामी प्रक्रिया अनुसार पारित गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँसभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तित्वहरूलाई १५ वटा विधामा सम्मान गरेको छ । स्थानीय शासन, सेवा प्रवाह, सामाजिक विकास तथा समुदायमा पु¥याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी, महिला शिक्षा प्रवद्र्धन तथा उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको “घ्याङलेखको छहारी, शिक्षित छोरी–बुहारी” कार्यक्रमअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत १५ जना छोरी–बुहारीलाई सम्मान गरिएको छ । उनीहरूलाई गाउँपालिकाले विगतदेखि प्रदान गर्दै आएको प्रोत्साहन रकमसहित सम्मानपत्र प्रदान गरेको हो । गाउँपालिकाले उक्त कार्यक्रम मार्फत उच्च शिक्षामा महिलाको सहभागिता बढाउनुका साथै शिक्षित र सक्षम समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, गाउँसभा सदस्य, गाउँपालिकाका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





















