सिन्धुली । गोलन्जोर गाउँपालिकाको १९ औँ गाउँसभा तथा अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ३३ लाखभन्दा बढी बजेट बिनियोजन गरेको छ । बुधबार गाउँपालिकाले बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ३३ लाख ८३ हजार १०१ रुपैयाँको बजेट विनियोजन गरेको जनाएको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेट अनुसार नेपाल सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदानतर्फ ३४ करोड ६५ लाख रुपैयाँ समावेश गरिएको छ । जसमा वित्तीय समानिकरण अनुदान ८ करोड ७२ लाख रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ, विशेष अनुदान ७१ लाख रुपैयाँ तथा सशर्त अनुदान (चालु तथा पुँजीगत) २५ करोड २ लाख रुपैयाँ रहेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।
बिनियोजित बजेटमध्ये बागमती प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ४ करोड ९३ लाख ९३ हजार रुपैयाँ रहेको छ । यस अन्तर्गत वित्तिय समानिकरण अनुदान १४ लाख १४ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड १३ लाख रुपैयाँ, विशेष अनुदान ४० लाख रुपैयाँ तथा सशर्त अनुदान १ करोड ६६ लाख ७९ हजार रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट ९ करोड २६ लाख ४१ हजार रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ९५ लाख २९ हजार ५० रुपैयाँ प्राप्त भएको छ । यस शीर्षकबाट कुल १३ करोड २१ लाख ७० हजार ५० रुपैयाँ प्राप्त भएको छ ।
यस्तै, गाउँपालिकाको आन्तरिक स्रोत, बैंक मौज्दात तथा अन्य बाँकी रकमबाट ३ करोड ५३ लाख २० हजार रुपैयाँ व्यवस्थापन गरिएको जनाइएको छ । गाउँसभामा प्रस्तुत बजेटले स्थानीय पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।





















