सिन्धुली । दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला तथा सरोकारवालासँगको छलफल कार्यक्रम आईतबार सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र ह्याण्डस नेपालको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय शिक्षा योजनालाई समयानुकूल, समावेशी, बालमैत्री तथा व्यवहारिक बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख सुबोध निरौला, शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्मा, विपद् व्यवस्थापन शाखा प्रमुख नारायण भट्टराई लगायत विभिन्न शाखाका प्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक, बालबालिका तथा किशोरी क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा योगेन्द्र चौलागाईंले स्थानीय शिक्षा योजना निर्माण प्रक्रिया, यसको आवश्यकता, कानुनी आधार तथा योजना निर्माणको कार्यढाँचा सम्बन्धि विषयमा सहजीकरण गरेका थिए । उनले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको शिक्षा सम्बन्धी मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, विद्यालय शिक्षा क्षेत्र योजना, बालमैत्री स्थानीय शासन सम्बन्धि नीतिहरु तथा दिगो विकास लक्ष्यलाई आधार मानेर स्थानीय शिक्षा योजना निर्माण तथा परिमार्जन गरिनुपर्ने बताएका थिए ।
छलफलका क्रममा सहभागीहरुले शिक्षा योजनामा गुणस्तरीय शिक्षा, समावेशी तथा बालमैत्री सिकाइ वातावरण, विद्यालयमा सूचना प्रविधिको प्रयोग, विपद् जोखिम न्यूनीकरण, किशोरी तथा बालबालिकाको सहभागिता, विद्यालय छाड्ने दर न्यूनीकरण, शिक्षक क्षमता विकास, सुरक्षित विद्यालय अवधारणा, लैंगिक समानता तथा समुदायको सहभागिता जस्ता विषय समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा स्थानीय आवश्यकता र समुदायको अपेक्षा अनुसार शिक्षा योजनालाई परिमार्जन गर्दै आगामी कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा समेत सहमति गरिएको थियो । सहभागीहरुले स्थानीय सरकार, विद्यालय र समुदायबीच समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारुले स्थानीय शिक्षा योजना नगरको शैक्षिक विकासको महत्वपूर्ण दस्तावेज भएकाले सरोकारवालाहरुको सुझावलाई समेटेर व्यवहारिक र परिणाममुखी योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।























