सिन्धुली । विपी राजमार्गमा बुधबार भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको भने दुई जना गम्भिर घाईते भएका छन् । सुनकोशी गाउँपालिका वडा नं. ६ घुमाउने चैनपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परि रामेछाप मन्थली नगरपालिका वडा नं. ६ का ४५ बर्षिय डल्ले माझीको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका माझीको आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२–०२७ प ११०० नम्बरको एफजेड मोटरसाइकल र विपरित दिशा सिन्धुलीबाट काठमाण्डौतर्फ जाँदै गरेकोे प्र.३–०२–०१४ प ८३६० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा माझीको मृत्यु भएको हो । उनी प्र.३–०२–०१४ प ८३६० नम्बरको मोटरसाईकलका चालक हुन ।
त्यस्तै दुर्घटनामा परि बा.प्र ०२–०२७ प ११०० नम्बरको मोटरसाईकलका चालक सुनकोशी गाउँपालिका वडा नं. ६ का ३२ वर्षिय कैलाश तोलांगे र सोही ठाउँका ४९ वर्षिय दिपेन्द्र के.सी. घाइते भएका छन् । उनीहरुको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ । उनीहरुलाई आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँको केएमसी मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।




















