जिल्लामा निर्वाचनमा खटिएका शिक्षकहरुले मतदान गर्न नपाउने भएका छन् । सुरक्षाकर्मी र कर्मचारी समेत मतदानबाट बञ्चित हुने भएका छन् । जिल्लामा निर्वाचनका लागि खटाईएका शिक्षकहरुले पूर्ण रुपमा मतदानबाट बञ्चित हुने भएका छन् । उनीहरुको अस्थायी मतदाता नामावलीमा नाम समावेश नभएपछि मतदान गर्न नपाउने भएका हुन् । कर्मचारीहरु पनि सबैको मतदाता नामावलीमा नाम स्वीकृत नभएपछि मत हाल्न नपाउने भएका छन् ।
सिन्धुलीमा कति शिक्षक खटाईएको छ कति कर्मचारी खटाईएको छ भन्ने एकीन तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय सिन्धुलीसँग नै नछुट्टिएको भए पनि अस्थायी मतदाता नामावलीमा कुनै पनि शिक्षकले मतदान गर्न पाउने गरि नाम समावेश भएको छैन ।
कर्मचारी, शिक्षक, सुरक्षाकर्मीले मतदाता नामावलीमा नाम दर्ता भएपछि मतदान गराउने ठाउँमा नै समानुपातिक तर्फको मत हाल्न पाउने व्यवस्थालाई सरकारले अस्थायी मतदाता नामावली स्वीकृत गराउने नाममा मत हाल्नबाट बञ्चित गरेको शिक्षक तथा कर्मचारीहरुको गुनासो छ । जिल्लामा ४ हजारको हाराहारीमा खटिएका सुरक्षाकर्मीले पनि मत हाल्न नपाउने भएका हुन् । नेपाली सेनाको नं. ९ बाहिनी अड्डाका १० जना, भवानी वक्स गणका १९ जनाले मत हाल्न पाउने छन् । बाँकी कुनै पनि सेनाले अस्थायी मतदानस्थल वा निर्वाचन स्थलमा मतदान गर्न पाउने छैनन् ।
यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत कर्मचारी ३२ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका ११ जना, सशस्त्र प्रहरी वल नेपालका ५० जना, ट्राफिक प्रहरी २२ जना, राष्ट्रिय अनुसन्धान कार्यालयका ९ जना र कर्मचारी १ हजार ५ सय ६९ जनाले मतदान गर्नेछन् । शिक्षकहरुको नाम अस्थायी नामावलीमै समावेश र स्वीकृत गरिएको छैन ।
जसका कारण निर्वाचनमा खटिएका मतदाता रहेका र अस्थायी मतदाता नामावली स्वीकृत नभएका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक लगाएतले मतदान गर्नबाट बञ्चित भएका छन् । आयोगले मताधिकार प्रयोग गर्न बञ्चित गरेको शिक्षक, सुरक्षाकर्मी र छुटेका कर्मचारीहरुको गुनासो रहेको छ ।




















