सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा बुधबार सरोकारवालासँग खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तर्क्रिया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा खाद्य गुणस्तर नियमन र खाद्य बजार अनुगमनका विषयमा सरोकारवालासँग छलफल गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रमुख प्रावधानहरु, खाद्य व्यवसायीहरुको दायित्व, खाद्य उद्योग दर्ता प्रक्रिया, अनलाइन प्रणाली मार्फत खाद्य अनुमति पत्र लिने प्रक्रिया, खाद्य ऐन बमोजिम हुने कसुर तथा सजाय सम्बन्धि विषयमा कार्यालयका प्रमुख दिनेश सुवेदीले जानकारी गराएका थिए ।
त्यसैगरी कार्यालयका खाद्य निरीक्षण अधिकारी अतिस घिमिरेले खाद्य स्वच्छता र गुणस्तरको परिचय तथा महत्वबारे स्पष्ट पार्दै खाद्य व्यवसायमा स्वच्छता कायम गर्न अपनाउनुपर्ने उपायहरू, व्यक्तिगत सरसफाई, खाद्य पदार्थमा रङ तथा तेलको प्रयोग जस्ता विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद प्रधानले खाद्य बजारको नियमित तथा प्रभावकारी अनुगमनका लागि प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा स्थानीय खाद्य उद्योगी, व्यवसायी, होटल तथा रेस्टुरेन्ट सञ्चालक, खुद्रा पसल व्यवसायी र सम्बन्धित वडाका प्रतिनिधिहरुको सहभागितामा अन्तक्र्रिया गरिएको हो । अन्तक्र्रियामा उठाईएका सवालमा कार्यालयका प्रमुख दिनेश सुवेदीले स्पष्ट पारेका थिए ।





















