सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल र उनकी श्रीमति इन्दिरा दाहालले एकलाख बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
दिवंगत सासु अम्बिका देवकोटा, ससुरा पूर्णप्रसाद देवकोटा र छोरी सम्झना दाहालको स्मृतिमा कमलामाई नगरपालिका वडा नं. ४ कुँडुलेमा रहेको पञ्चकन्या माविमा अक्षय कोष स्थापना गरेका हुन ।
विद्यालयको शैक्षिक उन्नयन तथा जेहेन्दार, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि उक्त कोष स्थापना गरिएको पत्रकार शेषराज दाहालले बताएका छन् ।
अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट विद्यालयको सहमति अनुसार शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्य र छात्रवृत्ति तथा पुरस्कार वितरण गरिने उनले बताए ।
अक्षयकोष स्थापनाका क्रममा बोल्दै दाहालले स्मृतिमा सीमित हुने श्रद्धाञ्जलीभन्दा समाजलाई प्रत्यक्ष लाभ पुग्ने काम नै दिवंगत आत्माप्रति सच्चा सम्मान हुने भएकाले अक्षयकोष स्थापना गरिएको बताए । शिक्षा नै समाज परिवर्तनको आधार भएकाले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको बताए ।
धर्मपत्नी इन्दिरा दाहालले पारिवारिक दुःखलाई सेवामा रूपान्तरण गर्न पाएकोमा खुशी लागेको बताईन । विद्यालय व्यवस्थापन समितिले दाहाल दम्पतीको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने जनाएको छ ।





















