सिन्धुली । सिन्धुली क्षेत्र नं. २ बाट नेकपामा विद्रोह गरि स्वतन्त्र उमेदवार बनेका महेश्वर दाहालले आफ्नो उमदेवारीलाई पद्दति विहिन, पथभ्रष्ट र राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरुद्धमा रहेको बताएका छन् ।
शनिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको कदम कुनै वार्गेनिङका निम्ति, पद हत्याउनका लागि वा कुर्सिमा जानका लागि चालिएको कदम नभएको स्पष्ट गराएका छन् । उनले प्रचण्डले पार्टीको निर्णय विरुद्ध गई उमेदवार सिफारिस गरेको प्रस्ट पार्दै आफु जिल्ला पार्टीको आधिकारीक उमेदवार हुँदा पनि पार्टीको चिन्ह नदिएको आरोप लगाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता हरिबोल गजुरेलको प्रस्ताव र पार्टी जिल्ला संयोजक पानीराज बम्जनको समर्थनमा उमेदवार बनेका दाहालले देशमा कम्युनिष्ट आन्दोलन मुल्य विहिनता, मुद्दा विहिनता र पतनको दिशातर्फ अगाडि बढेको बताउँदै त्यसलाई विराम दिने प्रयत्नको सुरुवात गरेको उनले बताएका छन् ।
दाहालले आफु पार्टीको विधि, थिति र कम्युनिष्ट आदर्श विरुद्धको उमेदवार बनेको दावी गरेका छन् । उनले समग्र कम्युनिष्ट आन्दोलन र बलिदान अमुक नेताहरुलाई पदमा पु¥याउनका लागि नभएको समेत बताए ।
राजतन्त्र फाल्न र लोकतन्त्रका लागि कम्युनिष्टहरुले योगदान गरेको भए पनि आलोपालो पद लिने, भ्रष्ट चरित्र, स्वेच्छाचारिता, परिवारवाद, विसंगति, विकृतिका विरुद्ध आफुहरुको आन्दोलनको सुरुवात भएको बताएका छन् ।
आफ्नो लडाई प्रचण्डसँग रहेको बताउँदै मिलिजुली खाने प्रवृति र फुट्ने जुट्ने कामको विरुद्ध रहेको बताए । दाहालले नेकपा फुटभन्दा पनि नयाँ आन्दोलनको सुरुवातको उद्घोष भएको बताए ।





















