सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेल, सिन्धुली क्षेत्र नं. २ बाट बागी उमेदवार बनेका महेश्वर दाहाल सहित ७ जनालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव, समर्थक र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कारबाही गरेको हो ।
सिन्धुली क्षेत्र नं. २ मा पार्टी संयोजक प्रचण्डले लेखनाथ दाहाल (राजन) लाई टिकट दिएपछि हरिबोल गजुरेलको प्रस्तावमा महेश्वर दाहाल बागी उमेदवार बनेका थिए । पार्टीको जिल्ला कार्यदलले सिफारिस नगरेका उमेदवार लेखनाथ दाहाल (राजन) लाई उमेदवार बनाएपछि नेकपामा विवाद भएको थियो । हरिबोल गजुरेललाई प्रचण्ड र माधव नेपालले विहिबार उमेदवारी फिर्ता गराई पार्टीका आधिकारीक उमेदवारलाई सहयोग गर्न विशेष निर्देशन समेत दिएका थिए ।
पार्टी संयोजक पानीराज बम्जन, पार्टी इन्चार्ज बसन्त माझीले महेश्वरको उमेदवारीलाई समर्थन गरेका थिए । पार्टीको निर्णय सच्चाउन लिखित माग समेत गरेका थिए । पार्टीको निर्णय र सिफारिस विपरित राजनलाई उमेदवार बनाएको भन्दै जिल्लाका नेताहरुले विद्रोह गरेका थिए । विद्रोह गरेका पार्टीका नेताहरु सबैमाथि कारवाहि भने गरिएको छैन ।
नेकपाको कारबाहीमा पर्ने अन्य नेताहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहा धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् । धर्मनाथ नेकपा छाडेर सिराहा ४ मा एमालेबाट उम्मेदवार बनेका छन् ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीले दाङ १ मा बागी उम्मेदवारी दिएका छन् । पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।





















