सिन्धुली । नेपाल एसविआई बैंक घ्याङलेख शाखा लुटपाटका मुख्य योजनाकारमध्ये फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ज्ञान बहादुर भोलनलाई प्रहरीले मंगलबार काठमान्डौको किर्तिपुरबाट पक्राउ गरेको हो । एसविआई बैंक लुटपाटको ८ दिनपछि उनी पक्राउ परेका हुन् ।
काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भोलनलाई सिन्धुली ल्याई म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए ।
उनका अनुसार भोलन मुख्य योजनाकार मध्येका एक हुन् । घटनाका मुख्य योजनाकारमा बैंक बसेको घरका धनी छविलाल स्याङतान, उनका जेठान चतुमान बज्यू र भोलन रहेको एसपी सुवेदीले बताएका छन् । बैंक लुटपाटपछि उनी फरार रहेका थिए । यसअघि नै प्रहरीले ७ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा गाडी चालक काभ्रेको बनेपा नगरपालिका वडा नं. १० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका वडा नं. २ का २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक रहेका थिए ।
गत मंगलबार उनीहरुले बैंक लुटपाट गरेका थिए । उनीहरुले ३ करोड ७ लाख लुटपाट गरेको प्रहरीको तथ्यांक छ । लुटिएको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैंया नगद समेत प्रहरीले बरामद गरेको थियो ।





















