सिन्धुली । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा उत्साहका साथ राजनीतिक दलहरुले उमेदवारी दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नं. १ मा १२ जनाको उमेदवारी दर्ता भएको छ भने क्षेत्र नं. २ मा १६ जनाको उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमा दुई जना महिला, ६ जना स्वतन्त्र उमेदवार सहित २८ जनाको उमेदवारी परेको छ । क्षेत्र नं. १ मा एक जना स्वतन्त्र र ११ जनाको राजनीतिक दलबाट उमेदवारी परेको निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिएकी छिन् ।
यस्तै क्षेत्र नं. २ बाट ५ जना स्वतन्त्र उमेदवार र ११ जनाले राजनीतिक दलबाट उमेदवारी दिएका छन् । निर्वाचनमा जिल्लाबाट १३ दलले सहभागिता जनाउने भएका छन् । सोहि अनुरुप उमेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. १ मा प्रदीप कुमार कटुवाल र क्षेत्र नं. २ बाट मनोजजंग थापाले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा उज्ज्वल प्रसाद बराल र क्षेत्र नं. २ बाट शुशिला थिङको उमेदवारी परेको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं. १ मा डेकेन्द्रप्रसाद सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल (राजन) को उमेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नं. १ मा धनेन्द्र कार्की र क्षेत्र नं. २ मा आशिष गजुरेलेको उमेदवारी रहेको छ ।
यस्तै राप्रपाबाट क्षेत्र नं. १ मा रामनारायण अधिकारी र क्षेत्र नं. २ मा मुकुन्द प्रसाद गजुरेलको उमेदवारी रहेको छ । श्रम संस्कृति पार्टीबाट क्षेत्र नं. १ मा निम बहादुर मोक्तान र क्षेत्र नं .२ मा इन्द्र बहादुर वि.कको उमेदवारी रहेको छ । नेमकिपाबाट क्षेत्र नं. १ मा राजेन्द्र बखुन्छे र क्षेत्र नं. २ मा रामेश्वरी कोजुको उमेदवारी रहेको छ ।
यस्तै मंगोल नेशनल अर्गनाईजेशनले क्षेत्र नं. १ मा सोम बहादुर घलान र क्षेत्र नं. २ मा शान्तविर लामालाई उमेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीबाट क्षेत्र नं. १ मा मोतिलाल तामाङको उमेदवारी परेको छ । नेकपा माओवादीले पनि उमेदवारी दिएको छ । उक्त पार्टीबाट क्षेत्र नं. १ बाट शुशिल हमाल र क्षेत्र नं. २ मा बत्र्य बहादुर राईले उमेदवारी दर्ता गरेका छन् । यस्तै राष्ट्रिय परिवर्तन पार्टीबाट क्षेत्र नं. १ मा सन्तोष कुमार सुनुवारले उमेदवारी दिएका छन् ।
सिन्धुली क्षेत्र नं. १ बाट अमृत बहादुर विश्वकर्माले स्वतन्त्र उमेदवारी दिएका छन् । क्षेत्र नं. २ मा खड्ग बहादुर वाईवा, नरहरी पौडेल, महेश्वर दाहाल, माधव प्रसाद न्यौपाने, सरोज वि.कले स्वतन्त्र उमेदवारी दिएका छन् ।
जिल्लाका राजनीतिक दलमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाका उमेदवारहरुले बाजागाजा सहित ¥याली सहित उमेदवारहरु लगि उमेदवारी दिएका छन् । जिल्लामा मनोनयन दर्ता सौहार्दपूर्ण रुपमा सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



























