सिन्धुली । प्रशिद्ध शक्तिपीठ तथा धार्मिक स्थल कमलामाई मन्दिरमा रहेको कमलामाईको मूर्तिमा बुधबार गहना पहिराईएको छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु देवकोटाले विशेष पूजाआजा सहित कमलामाईको मूर्तिमा गहना पहिराएका हुन् ।
सिन्धुलीमाढीमा रहेको वाणिज्य बैंकमा राखिएको गहना बाजागाजा तथा ¥याली सहित कमलामाई मन्दिरमा लगि कमलामाईलाई पहिराईएको हो । बुधबार कमलामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा ¥याली सहित मन्दिर पुगेर गहना पहि¥याईएको हो ।
कमलामाईमा हरेक वर्ष पुस मसान्तमा कमलामाई मन्दिरमा गहना पहिराउने परम्परा रहेको छ । कमला नदी र गौमति नदीको दोभानमा रहेको उक्त मन्दिरमा पुस मसान्तदेखि माघ १ गतेसम्म माघी मेला लाग्ने गर्छ । माघी नुहाउने भक्तजनहरुको भिड लाग्ने गर्छ । पुस मसान्तमा रातभर जाग्राम बस्ने र माघे संक्रान्तिमा कमला नदीमा नुहाई पूजाआजा गर्ने प्रचलन रहेको छ । कमलामाई मन्दिरमा सिन्धुली आसपासका जिल्ला, तराईका जिल्ला र भारतबाट समेत भक्तजन माघी नुहाउन आउने गर्छन् ।
यसैबीच कमला नदीको उद्गम स्थल कमलामाई नगरपालिका वडा नं. ८ मा रहेको माईस्थान शिरमा यो वर्षदेखि माघी मेला सुरु गरिएको छ । कमलामाईको मुख्य स्थलको रुपमा लिइएको उक्त स्थानमा रहेको मन्दिर परिसरमा माघी मेला सुरु भएको हो ।
विहिबार मेला समापन हुने छ । कमलामाई माईशिर व्यवस्थापन समितिको आयोजनामा सांस्कृतिक तथा धार्मिक मेलाको बुधबार उद्घाटन गरिएको छ ।























