सिन्धुली । सिटिजन्स बैँक शाखा सिन्धुली सामाजिक उत्तरदायित्वमा जोडिन थालेको छ । बैंकले उक्त उत्तरदायित्व अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ०६, जसेदमारमा रहेको नवज्योति बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको छ ।
विद्यालयमै पुगेर बैंकका प्रवन्धक जनकराज कार्कीले ५० दर्जन अभ्यास पुस्तिका र कलम वितरण गरेका हुन । विद्यालयमा २ सय ५ जना बहिरा अपाङ्गता भएका विद्यार्थीहरु आवासिय रुपमा पढ्दै आएका छन् ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बहिरा विद्यार्थीहरुलाई आवश्यक पर्ने स्टेशनरी सामग्री वितरण गरिएको बैँकका प्रबन्धक जनकराज कार्कीले बताए ।
बैँकले विद्यालयमा १८ वर्ष उमेर पुरा भएका बहिरा अपांगता भएका विद्यार्थीहरुलाई निःशुल्क खाता समेत खोलिदिने भएको छ । बैकिङ्ग एवम् वित्तिय साक्षरता प्रशिक्षण सञ्चालन गरी विद्यालयमा नै पुगेर निःशुल्क खाता खोलिदिने प्रतिवद्धता समेत कार्कीले जनाएका छन् ।
विद्यालयमा बहिरा अपांगता भएका सँगै डाउन सिन्ड्रोम, अटिजम, श्रवण दृष्टिविहिन, शारिरिक अपागंता भएका समेत पढ्न आएको विद्यालयले जनाएको छ । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा ३२ जिल्लाका बालबालिकाहरु अध्ययनरत छन् । विद्यार्थीहरुले विभिन्न जीवनपयोगी सीप समेत सिकेर आत्मनिर्भर बन्ने कोशिस गरिरहेका छन् ।






















