सिन्धुली । सिन्धुलीको जुनारलाई प्रविधि मार्फत ब्रान्डिङ गर्ने र यसको बहुआयामिक स्वाद उपभोक्ता माझ पु¥याउने उद्देश्यले ललितपुरमा विहिबारदेखि सिन्धुली जुनार मेला गरिने भएको छ ।
गोलन्जोर गाउँपालिकाको तिनकन्यामा हालै सम्पन्न ‘जुनार प्रवद्र्धन मेला’ सकिए लगत्तै ललितपुरमा प्रदर्शनात्मक मेला आयोजना गर्न लागिएको हो । मेला एकसाता लाग्ने छ ।
स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा विशेषगरी गोलन्जोर गाउँपालिकाको रतनचुरा र चिसापानी क्षेत्रका बगैँचाको जुनारलाई मुख्य ब्रान्डका रूपमा प्रस्तुत गरिने भएको छ ।
यस वर्षको मेलाको मुख्य आकर्षण प्रविधिको उच्चतम प्रयोग हो । योजना टेक्नोलोजी र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा कृषकका बगैँचा र रूखहरूको डिजिटल नक्सांकन गरिएको छ ।
करेसा एपका निर्देशक निश्चल पोखरेलका अनुसार यो प्रविधिले कुन बगैँचामा कति उत्पादन हुन्छ भन्ने अनुमानित जानकारी किसान र सहकारीलाई पहिले उपलब्ध गराउँछ।
उपभोक्ताले ‘करेसा’ मार्फत जुनारमा रहेको क्यूआर कोड स्क्यान गरी कुन बगैँचाको कहिले टिपेको हो र कृषकको विवरण सहित यात्रा विवरण सजिलै हेर्न सक्नेछन् ।
मेलामा जुनारलाई नुन–खुर्सानीमा साँधेर खाने परम्परागत शैलीभन्दा माथि उठेर यसका अन्य व्यावसायिक प्रयोगबारे जानकारी दिनु मेलाको मुख्य लक्ष्य रहेको रैथानेका सहसञ्चालक जेसन शाहले बताए ।
मेलामा जुनारको केक, आइसक्रिम, सलाद, क्रेप सुजेट र जुसको स्वाद लिन पाइने छ । विशेषगरी चिसो मौसम लक्षित गरी तयार पारिएको ‘हट जुनार जुस’ र स्थानीय जौको रक्सीसँग ‘जुनार जेस्ट’ मिसाइएको स्वाद आगन्तुकका लागि नयाँ अनुभव हुनेछ ।
हाट बजार सञ्चालक राजन खड्काका अनुसार यस पटक उपभोक्ताको सहजताका लागि हाटहरूको संख्या थपिएको छ । मेलाको तालिका अनुसार पुस ३ गते भनिमण्डल हाट, पुस ४ र ५ गते साझा सहकारी हाट, पुस ६ गते जाउलाखेल हाट, पुस ५ र ६ गते रैथाने रेस्टुरेन्ट (परिकार मेला) र पुस ८ गते धोबिघाट झम्सीखेलमा जुनार मेला लाग्ने छ ।
प्रत्यक्ष मेलामा पुग्न नसक्नेका लागि काठमाडौं अर्गानिक्सको वेबसाइट मार्फत अनलाइन अर्डर गरी जुनार मगाउने व्यवस्था मिलाइएको छ । स्टोरी साइकलका सञ्चालक दीपिका ज्ञवालीले कृषि क्षेत्रलाई जलवायुमैत्री र प्रविधि मार्फत बजारसँग जोड्ने अभियानमा आफू निरन्तर लागिरहेको बताइन् ।
गोलन्जोर गाउँपालिकाका प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले यस्ता मेलाले सिन्धुलीको २ हजार हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको जुनार खेती र कृषकलाई सिधै बजारसँग जोडेर आर्थिक लाभ दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सिन्धुलीका ४ स्थानीय तह सुनकोशी–७ मधुवा, कमलामाई–३ जलकन्या, गोलन्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोशखोलाका बगैँचाबाट जुनार खरिद गरिन्छ ।
सिर्जनशील कृषि फार्म सञ्चालक योगेन्द्र थापाका अनुसार ललितपुरमा जुनार मेला आयोजना भएको यो पाँचौं वर्ष हो । विगतका वर्षहरूको निरन्तर प्रयासले सिन्धुलीको जुनारले राजधानीमा छुट्टै पहिचान बनाउन सफल भएको थापाले बताए । उक्त मेलामा क्युआर कोडबाटै बगैँचाको यात्रा पहिल्याउने र स्वाद लिन सक्ने व्यवस्था गरिएको छ ।





















