सिन्धुली । शैक्षिक भ्रमणमा गएकी एक विद्यार्थीको चितवन सौराहाको होटल पार्क साईटको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ । सिद्धवावा प्लस टु कनपा ६ धुरामा कक्षा ११ मा पढ्ने कमलामाई नगरपालिका वडा नं. ६ पानीट्यांकीकी १८ वर्षिय स्नेहा पाख्रिनको बुधबार राती लडेर मृत्यु भएको हो ।
बुधबार सिद्धबाबा प्लस टु ले विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लगेको थियो । स्नेहा चारतलामाथि आफुहरु बसेको कोठाको झ्यालबाट खसेको र उपचारका क्रममा मृत्यु भएको सिद्धबाबा प्लस टुका सञ्चालक खड्ग बहादुर खत्रीले बताएका छन् ।
खाना खाएर साथीहरु सहित कोठमा सुत्न गएकी उनी झ्यालबाट होटलको तल्लो तलामा गितार बजाएको हेर्ने क्रममा लडेर घाईते भएकी थिईन । घाईते भएकी उनलाई उपचारको लागी स्थानीय बकुलहर अस्पताल टाँडीमा लगिएकोमा उपचारको क्रममा पौने १२ बजे नै मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
खत्रीका अनुसार झ्यालमा ग्रिल नभएका कारण उनी झ्यालबाट झरेकी थिईन । सौराहा घुम्ने योजना अनुसार उनीहरु रत्ननगर नगरपालिका वडा नं. ६ सौराहाको होटल पार्क साईडमा बास बसेका थिए ।





















