सिन्धुली । जिल्लामा हरेक महिनामा अपराधिक घटनाहरु बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालु आर्थिक वर्षको चार महिनामा मुद्दाहरु बढ्दै गएको तथ्यांकमा देखिएको हो । चालु आर्थिक वर्षको करीब चार महिनामा जिल्लामा १३२ मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साउन, भदौ, असोज र कार्तिक महिना सम्ममा जिल्लामा १३२ वटा मुद्दा दर्ता भएका छन् । ति मुद्दाहरुमध्ये ६२ वटा मुद्दाहरु फस्र्यौट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् ।
उनका अनुसार साउनमा २५, भदौमा ३३, असोजमा ३७ र कार्तिक महिनामा ३७ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये साउनमा १३, भदौमा २०, असोजमा १५ र कार्तिकमा १४ वटा मुद्दा फस्र्यौट भएका छन् ।
चार महिनामा विशेष गरि आत्महत्या, हत्या र बैंकिङ कसुरका मुद्दाहरु बढी रहेका छन् भने लागु औषध, यौनजन्य अपराधका घटनाहरु पनि बढेको देखिएको छ ।
जिल्लामा यो अवधिमा २४ वटा आत्महत्या, ११ वटा हत्या, ६ वटा बलत्कार, १ बलत्कार प्रयास र १ वालयौन दूव्र्यवहार गरि यौनजन्य अपराधका ८ वटा घटना भएको प्रहरीको तथ्यांक छ ।
यस्तै लागु औषधका ७ वटा, बैंकिङ कसुरका १२ वटा मुद्दा दर्ता भएको डिएसपी सुवेदीले बताएका छन् । यो अवधिमा अपराधिक घटनामा संलग्न १२४ जनालाई पक्राउ गरिएको र १५ जना अभियुक्त फरार रहेको सुवेदीले बताए । विशेष गरि चाडवाडका कारण पनि अपराधिक गतिविधि बढेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।





















