सिन्धुली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सिन्धुलीमाढीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । कमलामाई नगरपालिकाको आयोजनामा मंगलबार सिन्धुलीमाढीमा ¥यालीको आयोजना गरिएको छ । कमलामाई नगरपालिकाको लोकतान्त्रिक चोकबाट सुरु भएको ¥याली स्टलबजार, गैरीबजार, दुई नम्बर बजार, मधुटार हुदैँ बसपार्कमा पुगेर कोणसभा गरिएको थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने यो अभियान प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं भन्ने मूल नाराका साथ नेपालभरी एकै साथ मनाउन थालिएको छ । यहि क्रममा कमलामाई नगरपालिकाको आयोजना र नेपाल प्रहरी, प्लान इन्टरनेशनल नेपाल, ह्याण्ड्स नेपाल संस्थाहरुको सहकार्य, समन्वयमा ¥याली तथा साँझ दीप प्रज्वलन समेत गरि कार्यक्रम गरिएको हो ।
¥यालीपछिको कोणसभामा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले लैंगिक हिंसा अन्त्य गर्न घर, परिवार, समाज र राष्ट्रबाट नै सुरु गर्नुपर्ने बताए । एकपक्षले चाहेर मात्र लैंगिक हिंसाको अन्त्य नहुने बताउँदै पोखरेलले सबै क्षेत्रले आफ्नो दायित्वका रुपमा हिंसा न्युनिकरणको पहल लिनुपर्ने बताए । पोखरेलले लैंगिक हिंसा न्युनिकरण भएमा मात्र संमृद्ध नेपाल निर्माण हुन सक्ने बताएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले लिंगको आधारमा कसैलाई पनि विभेद गरिनु हुँदैन भन्ने मनसायबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको बताएका छन् । तिवारीले घरबाट नै लैंगिक हिंसा र विभेद अन्त्य गरिनुपर्ने बताए । उनले सबैले बोली र व्यवहारमा समेत सुधार ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ससमन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले लैंगिक हिंसामा महिला वा पुरुष जो कोहि पनि पर्न सक्ने बताईन् । उनले महिला हिंसामा परेको भन्दै उजुरी आउने हुनाले थाहा हुने र पुरुषहरुले उजुरी दिन नसकेकाले पुरुषहरुको तथ्यांक आउन नसकेको बताईन् ।
पछिल्लो समय पुरुषहरु समेत लैंगिक हिंसामा परेको गुनासो गर्न थालेको बताएकी छिन् । उनले हिंसामुक्त समाज निर्माण गर्नका लागि राजनीतिक दल, सघंसस्ंथा, लगाायत सिङ्गो राष्ट्र नै जिम्मेवार हुनु पर्ने बताएकी छिन् ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले समाजमा लैंगिक हिंसामा महिला, पुरुष वा अन्य जो पनि पनि पर्न सक्ने भएकाले लैंगिक हिंसा विरुद्ध अभियान सञ्चालन हुनुपर्नेमा जोड दिईन । लिंगका आधारमा हुने हिंसा न्युनिकरणका लागि घरदेखि नै सुरुवात गर्नुपर्ने आवश्यकता रहेको उनले औंलाएकी छिन् ।
लैंगिक हिंसा विरुद्धको अभियानमा सबै सधै लाग्नुपर्ने मा उनले जोड दिईन् । देवकोटाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सबै वडामा कार्यक्रम गरिने उनले बताईन ।
कार्यक्रममा कमलामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज बरालले स्वागत तथा अभियानका बारेमा जानकारी गराएका थिए ।























