सिन्धुली । जेनजीको आन्दोलनका कारण कार्यालय जलेका तीनवटा राजनीतिक दलहरुले पार्टी कार्यालय सञ्चालनमा जुटेका छन । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जलेका कार्यालहरुलाई खरानी पन्छाएर सञ्चालन गर्न दृढता पूर्वक अगाडि बढेका छन ।
जेनजी आन्दोलनको सबैभन्दा बढी क्षति नेकपा एमालेको पार्टी कार्यालयले व्यहोरेको छ । नेकपा एमालेको पुरानो काठको घर पूर्ण रुपमा जल्यो । नयाँ चारतले भर्खर निर्माण सम्पन्न भएको भवनमा दनदनी बलेको आगोले भवन नै पूर्ण क्षति भएको छ ।
त्यहि भवनमा कार्यालय सञ्चालन हुनेमा नेकपा एमालेका नेताहरु विश्वस्त छैनन । भर्खरै करीब ७० लाख खर्च लगाएर कार्यालयमा रंगरोगन र डेकोरेसन गरिएको थियो । ति सबै नष्ट भएका छन । दस्तावेजमा अग्रपंक्तिमा रहेको एमालेका सबै दस्तावेज नष्ट भएका छन । चारदिनसम्म आगोको राप नसकिएको यो भवन दमकल बोलाएर पानी हालेर सोमबार पखालिएको छ । सरसफाई गरिएको छ । इन्जिनियरले नहेरि कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन । आन्दोलनकारीले भत्काएको गेट कार्यकर्ताले हालेका छन । पुनःनिर्माण गर्नुपर्ने की मर्मतमा नै सञ्चालन गर्न सकिने इन्जिनियरले हेरेपछि मात्र भन्न सकिने नेकपा एमालेका पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए । उनले भनेका छन, ‘घर जलेको हो, विचार जलेको छैन ।’ सरसफाईका क्रममा अध्यक्ष श्रेष्ठ सबै संरचनाको पुनःनिर्माणमा जुट्न कार्यकर्तालाई आह्वान समेत गरेका छन ।
नेपाली कांग्रेसको भवनमा रहेका पार्टीका सबै दस्तावेज नष्ट भएका छन । नेपाली कांग्रेसको पार्टी कार्यालयको पहिलो तला अत्यधिक क्षति भएको छ । भवनमा सरसफाई गरि सोमबारदेखि कार्यालय सञ्चालन त गरियो तर सबैभन्दा महत्वपूर्ण कुरा त सबै दस्तावेज सकिए । नेपाली कांग्रेसका सभापति उपेन्द्र कुमार पोखरेलका अनुसार भौतिक संरचना त बन्ला तर दस्तावेज क्षति अत्यधिक ठूलो छ जुन न बनाउन सकिन्छ न रिकभर गर्न नै । उनले तत्कालिन केपी ओलीले लिपुलेक र कालापानीको सवालमा चाईनामा देशका पक्षमा अडान लिएका कारण विदेशी शक्तिले वितन्डा मच्चाएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रले भवनको मर्मत थालेको छ । आईतबार कार्यालयमा सरसफाईपछि कार्यालय सञ्चालन पनि गरेको छ । माओवादीका जिल्ला संयोजक पानीराज बम्जनले फर्निचरमा भएको सामान्य क्षतिलाई मर्मत गरि आईतबारदेखि नै कार्यालय सञ्चालन गरिएको छ । कार्यालयका केहि दस्तावेज समेत नष्ट भएका छन ।




















