सिन्धुली । जेनजी आन्दोलनका कारण जलेका कार्यालयहरु सञ्चालनमै सकस भएको छ । आवश्यक सामग्रीको अभाव, दस्तावेजको अभाव र बजेटको समेत अभाव हुँदा जिल्लाका जिल्ला प्रशासन कार्यालय सिन्धुली, सिन्धुली जिल्ला अदालत, कमलामाई नगरपालिका र कमलामाई नगरपालिका वडा नं. ५ को कार्यालय सञ्चालनमा सेवा सञ्चालनमा समस्या भएको हो ।
आइतबारदेखि जिल्लाका सबै कार्यालयहरु सञ्चालन गर्ने भनिए पनि तोडफोड र आगजनीबाट क्षति पुगेका कार्यालयहरुको सेवा निरन्तरतामा भने चुनौती थपिएको छ ।
कार्यालय सञ्चालन गर्ने भवन, दस्तावेज, कुर्सि, टेवल, नेट, विद्युत, कम्प्युटर, सर्वर लगाएतका साधनहरु नहुँदा सेवा प्रवाहमा कठिनाई भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि यहि कठिनाई झेलिरहेको छ । जलेर खरानी भएको कार्यालयबाट राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता जस्ता महत्वपूर्ण सेवा दिन सकस भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताएका छन । उनका अनुसार कार्यालयमा रहेको सर्वरमा भएको क्षति र त्यो रिकभर हुन नसक्दा झनै समस्या भएको छ ।
कार्यालयका कर्मचारीहरु विहिबारदेखि नै कार्यालयको सरसफाईमा जुटेका छन । भवनका भग्नावशेष हटाई सकेका छन । सिन्धुली जिल्लाभरीका १६ हजार बढी परिचयपत्र अलपत्र छरिएका छन । नागरिकताका सबै फाईलहरु जलेका छन । मुद्दा शाखाका फाईलहरु त झनै सुरुमै आन्दोलनकारीले जलाएको भुसालले बताए ।
उनका अनुसार आन्दोलनकारीको पहिलो निशाना मुद्दा शाखा थियो । मुद्दा पछि राहदानी शाखाका कम्प्युटर, सिस्टम, राहदानी लगाएतका सबै सामग्रीमा क्षति गरे । नागरिकताका दस्तावेज छैनन । प्रशासन शाखाका सबै सामग्री जलाईएको छ । जसले पुराना दस्तावेजहरु नष्ट भएका छन । प्रशासनिक रेकर्डहरुले काममा समस्या सृजना हुने नै छ । परिचयपत्र शाखाका सबै विद्युतिय सामग्री र सिस्टममा क्षति पुगेको छ । प्रशासनले बुधबारसम्म नागरिकता सेवा सञ्चालन गर्न सकिन्छ की भनेर प्रयास जारी राखेको छ तर सर्वर नै रिकभर भईरहेको छैन ।
‘कार्यालय सञ्चालनका लागि सरकारी निकायसँग सहयोग मागेका छौं । स्थानीय तहहरुसँग समन्वय गरिरहेका छौं । कमलामाई नगरपालिका बाहेकका अन्य स्थानीय तह र आन्दोलनको प्रभाव नपरेका सरकारी कार्यालयहरुसँग कार्यालय सञ्चालनका आवश्यक सामग्री सहयोग मागेका छौं’, उनले भने । मन्त्रालयसँग पनि अनुरोध गरेको उनले जानकारी दिएका छन । नपुगमा भएमा नीजि तथा सार्वजनिक क्षेत्रसँग पनि सहयोग लिने र सबै कार्यालयहरु सञ्चालन गर्ने तयारीमा जुटेको पनि उनले जानकारी दिए ।
कार्यालयमा सामग्री सहयोग जुटाए पनि सुरक्षित कार्यालय भवन नहुँदा कार्यालय सञ्चालन झनै जोखिमपूर्ण हुने उनले बताए । कार्यालयका फुटेका झ्याल बनाउने, रङरोगन, वाईरिङका काम अगाडि बढाईएको छ । तथापी जलेका कार्यालयहरुलाई नियमित लयमा ल्याउन सकस भएको भुसालले बताए ।
यस्तै कार्यालयहरु सञ्चालनमा सिन्धुली जिल्ला अदालत, कमलामाई नगरपालिका र कमलामाई नगरपालिका वडा नं. ५ को कार्यालयलाई पनि सकस छ । अदालतको काम त्रिपालमा बसेर गर्न थालिएको छ । ८ सय बढी मुद्दाका फाईलहरु जलेका छन । आधा जलेका फाईल समेत मिलाउँदैछन कर्मचारी । कार्यालय भवनको मर्मत संहार सुरु भएको छ । कम्प्युटर, आवश्यक सामग्री नहुँदा आपतकालिन सेवा बाहेकका अन्य सेवा सञ्चालन गर्न आदलतले सकेको छैन ।
कमलामाई नगरपालिकाको भवन पूर्ण क्षति छ । सञ्चालन गर्न सक्ने अवस्था छैन । भवनको पछाडी पट्टिका टहरा केहि प्रयोग गर्न सकिएला तर पुग्ने अवस्था छैन । सबैभन्दा बढी जनशक्ति र जनसम्पर्क हुने स्थानीय तह सञ्चालन नहुँदा दशैंको नजिकमा वितरण हुने सामाजिक सुरक्षा भत्ता वितरणमा अवरोध हुन सक्ने छ । नगरपालिकाले तोडफोड भएका गाडीहरुको प्रयोग गरि सरसफाईमा अरु संस्था, व्यक्ति र कार्यालयहरुलाई समेत सहयोग गरिरहेको छ । दमकल, सरसफाईका गाडीहरुलाई पुनःनिर्माणमा परिचालन गरेको छ । कार्यालय सञ्चालनका सम्बन्धमा भने धेरै अन्यौलता छ ।
जसका कारण मंगलबार कमलामाई नगरपालिकाले कार्यपालिकाको बैठक बोलाएको छ । उक्त बैठकमा भग्नावशेषबाट कसरी उठ्ने भन्ने विषयमा छलफल हुने छ । ‘पुनःनिर्माणमा जुट्छौं, भत्किएका संरचना बनाएर कार्यालय सञ्चालन गर्छौं,’ कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले भनेका छन । केहि समय लागे पनि कार्यालय व्यवस्थापन गरेर कार्यालय सञ्चालन गर्ने दृढता उनले बोकेका छन । कमलामाई नगरपालिकाका करीब ८० प्रतिशत माथि दस्तावेज समेत जलेका छन ।
कमलामाई नगरपालिकाको वडा नं. ५ को कार्यालय पनि अब सरसफाई सुरु गरिएको छ । फुटेका सिसा हाल्ने, वाईरिङ, रंगरोगन गरि कार्यालय सञ्चालनका सामग्री जुटाएर कार्यालय सञ्चालन गरिने छ । दस्तावेज र फर्निचर जुगाड गर्नुपर्ने जिम्मेवारी सहित कार्यालय सुरक्षित बनाउन मर्मत गरेपछि मात्र कार्यालय सञ्चालन हुने वडा अध्यक्ष पूर्ण बहादुर खड्काले जनाएका छन ।





















