सिन्धुली । बुधबार सिन्धुली कारागार तोडेर भागेका कैदीबन्दीहरुलाई २४ घण्टाभित्र कारागार सिन्धुलीमा आउन कारागार कार्यालय सिन्धुलीले अनुरोध गरेको छ । बुधबार कारागारभित्र आगजनी, तोडफोड गरि निस्केका कैदीबन्दीहरुलाई २४ घण्टाभित्र कार्यालयमा उपस्थिति हुन कारागार कार्यालय विहिबार सूचना जारी गरेको हो ।
कारागार कार्यालय सिन्धुलीका निमित्त कारागार प्रशासक मातृका प्रसाद पहाडीले कारागारभित्र समयमा नफर्के कानुन बमोजिम कारवाहि हुने समेत चेतावनी दिएका छन ।
हवाई फायर र अश्रुग्याँस प्रहार गर्दा समेत सुरक्षाकर्मीले कैदीबन्दीलाई नियन्त्रणमा लिन नसकेपछि उनीहरुलाई छोडिएको थियो । कैदीबन्दीले कारागारको पर्खाल फुटाउनुका साथै कारागार भित्रका महिला बन्दीगृह र पुरुष बन्दीगृहमा आगो लगाएका थिए ।
ज्यानको सुरक्षाका लागि सुरक्षाकर्मीले उनीहरुलाई छोडेका थिए । आगो नियन्त्रणमा आएपछि कैदीबन्दीहरुलाई सेना र प्रहरीले पक्राउ गर्न सुरु गरेको छ । विहिबार बेलुकासम्म २७ महिला सहित १ सय ९५ जनालाई नियन्त्रणमा लिई कारागारमा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले बताएका छन ।
कारागारको मर्मत गरि बुधबार रातीदेखि नै उनीहरुलाई कारागारभित्र राखिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन । बुधबार नै १६० जनालाई पक्राउ गरिएको थियो ।





















