सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाभर लागु हुने गरि पुनः निशेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको छ । जिल्लाका सबै क्षेत्रलाई दंगाग्रस्त क्षेत्रका रुपमा परिभाषित गर्दै प्रशासनले विहिबार राती ८ बजेदेखि शुक्रबार विहान ५ बजेसम्मका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो भने शुक्रबार विहान ८ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो ।
यस अघि बुधबार साँझ ६ बजेदेखि अनिश्चितकालिन कर्फ्यु जारी गरेको प्रशासनले दिउँसोमा निशेधाज्ञा र रातमा कर्फ्यु जारी गरेको हो ।
जिल्लाभर लागु हुने गरी निशेधाज्ञा र कर्फ्यु लगाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालबाट जारी भएको निशेषाज्ञामा अति आवश्यक कामका लागि शुक्रबार विहान ५ बजेदेखि राती ८ बजेसम्म हिडडुल गर्न पाईने समेत उल्लेख छ ।
निशेधाज्ञाको समयमा भेला, जुलुस, सभा, वैठक वा प्रदर्शन गर्न, पर्चा, पोष्टर टाँस्न वा लेख्न एवम् शान्ती व्यवस्थामा असर हुने कुनै पनि काम नगर्न सूचना मार्फत आग्रह गरिएको छ ।
यस्तै कफ्र्युको समयमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा गर्न वा समूह बनाई हिड्न, बैठक वा घेराउ गर्न नहुने उल्लेख गरिएको छ ।
जिल्लाको विद्यमान सुरक्षा अवस्था र परिस्थिति विश्लेषणका आधारमा जिल्ला भित्रको सार्वजनिक सम्पत्ति र जनताको जिउधनको सुरक्षाका लागि कफ्र्यु तथा निशेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।





















