सिन्धुली । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार शेषराज दाहालद्वारा लिखित दुई पुस्तकको शुक्रबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सिन्धुली जिल्लामा पत्रकारिताको औपचारिक सुरुवात गरेका पत्रकार एवम् लेखक दाहालद्वारा लिखित सिन्धुली पत्रकारिताको इतिहास र द्रव्य शाहदेखि गणतन्त्रसम्म नामक दुई वटा पुस्तक सिन्धुलीमाढीमा विमोचन गरियो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य र साहित्यकार प्रा. डा. कृष्णहरि बरालले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन । आचार्यले सिन्धुलीको पत्रकारिताको इतिहास र बरालले द्रव्य शाहदेखि गणतन्त्रसम्म पुस्तक विमोचन गरेका हुन् ।
जनज्योती मावि फोस्रेटारका पूर्व प्रधानाध्यापक भिमविक्रम थापाले विमोचन गरिएको पुस्तक द्रव्य शाहदेखि गणतन्त्रसम्मको समिक्षा गरेका थिए भने साहित्यकार तुलसी प्रसाद ढकालले सिन्धुलीको पत्रकारिताको इतिहास पुस्तकको समिक्षा गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त सुरेशप्रसाद आचार्यले सिन्धुलीको पत्रकारिताको इतिहास लेख्ने कार्यको सुभारम्भ भएको बताउँदै इतिहासलाई पूर्णता दिने जिम्मेवारी नयाँ पुस्ताको रहेको बताए । उनले लेखक दाहाल आफै जिल्लाको पत्रकारिताको इतिहास भएको बताउँदै उहाँले नै पत्रकारिताको इतिहास लेख्ने हुटहुटी देखाउनु गौरवको विषय भएको बताए ।
उनले पत्रकारले नेपाली भाषा, साहित्यको ज्ञान छैन भन्ने छुट समेत नभएको बताएका छन । यस्तै कार्यक्रममा बोल्दै प्रा.डा. कृष्णहरि बरालले भाषा, साहित्य र इतिहास लेख्ने व्यक्तिले तथ्यसँगै प्रस्तुतीलाई समेत ध्यान दिनुपर्ने बताए । उनले तथ्यमा केहि त्रुटि भएको लेखकलाई लागेमा उसले आफ्ना थप संस्करणमा सृजनालाई परिस्कृत समेत गर्न सक्ने भएकाले पुस्तकमा छुटेका कुराहरु थपघट गर्न सकिने सुझाव समेत दिएका छन ।





















