
सदरमुकाम सिन्धुलीमाढीमा रहेको एक मात्र अटो पार्कमा नगरपालिकाले अटो पार्किङ गर्न रोक लगाएपछि उनीहरु आन्दोलित भएका हुन । चिल्ड्रेन पार्कसँगै जोडिएको पार्कमा कार्यक्रमहरु भईरहने र अटो पार्किङ हुँदा कार्यक्रम सञ्चालन गर्न समस्या भएको भन्दै कमलामाई नगरपालिकाले अटोहरुलाई पार्किङ गर्न रोक लगाएको थियो ।
सिन्धुली बसपार्कमा ठूला र मझौला सवारी साधनलाई नै पार्किङ गर्न समस्या भएको र अन्यत्र ठाउँ नभएको भन्दै अटो व्यवसायीहरु आन्दोलित भएका थिए ।
दिनभर अटो सहित नगरपालिका घेराउ गरेका उनीहरुले साँझ एकसाताका लागि आन्दोलन स्थगित गरेका छन । कमलामाई नगरपालिकाले एकसाता भित्र बैकल्पिक अटो पार्किङ स्थलको व्यवस्था गर्ने प्रतिवद्धता जनाएपछि एकसाताका लागि आन्दोलन स्थगित भएको सिन्धुली अटो संघका जानुका गौतमले बताईन । अटोे चालकहरुले स्थायी समाधान खोज्न समेत नगरपालिकासँग माग गरेका छन । गौतमका अनुसार नगरपालिकासँग भएको वार्तामा वैकल्पिक व्यवस्था नभएसम्मका लागि बसपार्क र सोहि आसपासमा पार्किङ गर्ने सहमति जुटेको छ ।
कमलामाई नगरपालिकाका सूचना अधिकारी सागर कुमार ढकालले धुराबजारको पुलको बायाँ साईडको लब्दाहा खोला र ग्वाङखोलाको दोभान नजिकै अटो पार्किङ बनाईने बताएका छन । उनले विगतमा अटो पार्किङ गरिरहेको स्थलमा कार्यक्रमहरु गर्न ठाउँ सानो भएकाले समस्या भएको बताए । पुरानो पार्किङ स्थलमा नगरपालिकाले यो वर्ष पार्किङ ठेक्का समेत नलगाईएको ढकालले बताए ।
सिन्धुली अटो संघका अनुसार जिल्लामा ५ सय अटोहरु सञ्चालनमा रहेका छन । अटोहरुका लागि उचित पार्किङ स्थलहरु छैनन ।




















