सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ २ नम्बर बजारमा रहेको आजाद स्मृति भवनको अधुरो भवन निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट भवनको निर्माणको काम पुरा भईसक्दा पनि भुक्तानी हुन सकेको छैन ।
भवन निर्माण सम्पन्न भई नापजाँच समेत भई सकेको र कमलामाई नगरपालिका वडा नं. ६ को कार्यालयबाट भुक्तानीको लागि सिफारिस भईसक्दा पनि कार्यालयले भुक्तानी प्रक्रियामा सहजीकरण नगरेपछि भवन निर्माणको भुक्तानी रोकिएको हो ।
शहरी विकास तथा भवन कार्यालय मार्फत काम भएको र कार्यालय प्रमुख दुर्गा प्रसाद घिमिरेले भुक्तानी दिन प्रक्रिया अगाडि बढाउन नदिएपछि विवाद चुलिएको छ ।
कार्यालयबाट प्रदान गरिने २८ लाख ७९ हजार ९ सय ९९ रुपैंया बजेट र उपभोक्ता समितिबाट ७ लाख १९ हजार ९ सय ९९ रुपैंया गरि कुल लागत ३७ लाख उन्नाईस हजार नौ सय उन्नान्सय रुपैैंया लागतमा उक्त भवन निर्माणको सम्झौता थियो ।
उपभोक्ता समितिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ सहितको टोलीले पटक पटक छलफल गर्दा पनि कार्यालय प्रमुख घिमिरेले कुनै निकास नदिएको र भुक्तानी नहुनुपर्ने उचित कारण समेत नदिएको महेन्द्रदेव श्रेष्ठले बताएका छन । उक्त भवन निर्माणका लागि उपभोक्ता समिति र कार्यालयबीच २०८१ पुस २२ गते निर्माण सम्झौता भएको थियो । कार्यालयले सोहि दिन नै निर्माणको काम गर्न ७ दिनभित्र सुरु गर्न भनि कार्यादेश समेत दिएको थियो । समितिलाई दिएको कार्यादेशमा कार्यालय प्रमुख घिमिरेले नै हस्ताक्षर गरेका छन ।
उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठका अनुसार कार्यादेश बमोजिम समितिले काम थालेको थियो । प्राविधिक स्टमेट अनुसार नै काम गरिएको र भुक्तानीमा समस्या देखिएको उनले बताए ।
आफुलाई भुक्तानी नगर्न अत्यधिक दवाव रहेको घिमिरेले उपभोक्ता समितिसँगको छलफलमा घिमिरेले जनाएका थिए । प्राविधिक मुल्यांकनका लागि इन्जिनियरहरुले नापजाँच गरिसकेको भए पनि सोको मुल्यांकन विवरण समितिलाई कार्यालयले दिएको छैन ।
कार्यालयले भुक्तानी नदिने भएपछि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मंगलबार शहरी विकास तथा भवन कार्यालयमा तालाबन्दी समेत गरेको छ । तालाबन्दी भए लगत्तै प्रहरीले उक्त ताला खोलेको छ । भुक्तानीको समय असार २५ गतेसम्म रहेको र २४ गतेसम्म भुक्तानी नदिएपछि दवाव दिन युवा संघले तालाबन्दी गरेको थियो ।
प्रक्रिया पुगेपछि भुक्तानी हुन्छ : घिमिरे
शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले आफुले भुक्तानी नदिने नभनेको बताए । भुक्तानीमा केहि प्राविधिक कुरा मिलाउनुपर्ने भएर समय लागेको घिमिरेले जनाएका छन । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशसँग समन्वय गरेर प्रक्रिया पुगेर दिन मिल्ने भएमा भुक्तानी दिने बताए । ‘मैले केहि प्रक्रिया नपुगेको र प्रक्रिया पुगेपछि भुक्तानी दिन्छु भनेको हुँ, उहाँहरुले भुक्तानी नै नदिने भन्ने बुझ्नुभयो’, घिमिरेले भने । ‘प्रक्रिया नपुगी भुक्तानी दिंदा अप्ठ्यारो पर्छ भनेको थिएँ, कार्यालयमा ताला लगाउनु भएछ ?, प्रहरीले ताला खोल्यो’ घिमिरेले भने ।
भोली नै कागजात अध्ययन गर्छु : प्रजिअ
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आफु काम विशेषले जिल्ला बाहिर रहेकाले घटनाक्रमको बारेमा पूर्ण जानकार नरहेको बताए । जिल्ला फर्कदै गरेकाले फर्केपछि घटनाको बारेमा जानकारी लिने र बुधबार सबै कागजातको अध्ययन गरि भुक्तानीमा सहजीकरण गर्ने समेत प्रजिअ भुसालले बताएका छन ।





















