सिन्धुली । जिल्लामा महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुने हिंसाका घटनाहरु अत्यधिक रहेका छन । चालु आर्थिक वर्षको एघार महिनामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकका १ सय ८७ मुद्दा दर्ता भएका छन । जसमा सबैभन्दा बढी घरेलु हिंसा र बलत्कारका मुद्दा रहेका छन ।
यस्तै महिला, बालबालिका र जेष्ठ नागरिकका आत्महत्याका घटनाहरु समेत बढ्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार एघार महिनामा १ सय २ वटा घटना घरेलु हिंसासँग सम्बन्धित मुद्दा रहेका छन ।
घरेलु हिंसाका कारण एकजना महिलाको मृत्यु भएको समेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आएका घरेलु हिंसाका मुद्दामध्ये ९६ वटा मुद्दा फस्र्यौट भएका छन भने ६ वटा फछ्र्यौट हुन बाँकी रहेका छन ।
आत्महत्याबाट ३५ जना महिलाको ज्यान गएको छ । बलत्कारका २९ वटा मुद्दा दर्ता भएका छन । जसमध्ये बलत्कारका २१ वटा मुद्दा फछ्र्यौट भएका छन भने ८ वटा फछयौट हुन बाँकी रहेका छन ।
बलत्कार प्रयासका ७ वटा निवेदन परेकोमा ५ वटा फछ्यौट भई २ वटा बाँकी रहेका छन । बहुबिवाहमा ७ वटा निवेदन परेकोमा सबै फस्र्यौट भएका छन । बालबिवाहका २ वटा, बालयौन दुरुपयोगको १ वटा, अभद्र व्यवहारमा ३ वटा उजुरी दर्ता भएका छन ।



















