सिन्धुली । सुनकोशी गाउँपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्ष तथा शिक्षा शाखामा लगाईएको ताला खोल्न सुनकोशीका तीन राजनीतिक दलले बुधबार माग गरेका छन । नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा एकीकृत समाजवादीले ताला खोल्न माग गर्दै सुनकोशी गाउँपालिकाका प्रमुख दिपा बोहोरा दाहाल, उपप्रमुख कपिल कुमार कोइराला र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका हुन । उनीहरुले वार्ता र सम्वादका माध्यमबाट ताला खुलाउन माग गरेका छन ।
माओवादी केन्द्र सुनकोशी इन्चार्ज भेषराज दाहाल, माओवादी केन्द्रका अध्यक्ष नेत्र राना, नेकपा एकीकृत समाजवादीका सहइन्चार्ज राजकुमार श्रेष्ठ र रास्वपा सुनकोशीका पूर्व सभापति रामचन्द्र अधिकारीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले तालाबन्दीले सुनकोशीका आम नागरिकलाई असुविधा परेको प्रति ध्यान दिन आग्रह गरेका छन ।
यस्तै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै सुनकोशी गाउँपालिका वडा नं. ३ मा रहेको प्रगतिशिल माविका प्रधानाध्यापकको राजिनामा समेत मागेका छन । उनीहरुले अख्तियारमा मुद्दा चलिरहेको र छानविन भएकाले प्रधानाध्यापक सरिता चौलागाईंलाई राजिनामा दिई अनुसन्धानलाई सहयोग पु¥याउन माग गरेका छन । यस्तै उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया तत्काल थाल्न समेत माग गरेका छन ।
गाउँपालिकामा उपाध्यक्ष कपिल कोईराला, चार जना वडाअध्यक्ष र ३ जना कार्यपालिका सदस्यले सोमबारदेखि तालाबन्दी गरेका थिए । उनीहरुले प्रधानाध्यापक चौलागाईंलाई प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोधेको भन्दै तालाबन्दी गरेका थिए ।





















