सिन्धुली । सिन्धुलीगढीका संरचना बुझाउने र ऐतिहासिक महत्व झल्काउने गरि विपी राजमार्गको सेल्फीडाँडामा राहत चित्र (रिलिफ आर्ट) र स्ट्याचु (मूर्ति) निर्माण गरिएको छ । सिन्धुलीगढी पुग्न नसक्ने र सिन्धुलीगढीको बारेमा थाहा पाउन चाहनेका लागि विपी राजमार्गको सेल्फीडाँडामा राहत चित्र, भित्तेचित्र र मूर्तिहरु निर्माण गरिएको हो ।
कमलामाई नगरपालिका र नेपाली सेनाको भवानी वक्स गणको सहकार्यमा रिलिफ आर्ट (भित्तेचित्र) र मूर्ति निर्माण गरिएको छ । आर्टमा पौवागढी, ठूलो गढी, रानी दरबार, सिद्धगढी मन्दिर, भद्रकाली मन्दिर लगाएतका संरचनाहरु झल्कने चित्रहरु बनाईएको छ । भित्तामा खोपेर उठाएर बनाइएका चित्रहरुसँगै गोरखाली सेना र अंग्रेज युद्ध झल्कने चित्र, युद्धको झल्को दिने मूर्ति लगाएतका संरचनाहरु समेत निर्माण गरिएको छ ।
उक्त कार्यका लागि कमलामाई नगरपालिकाको पाँच लाख सहयोग रहेको छ भने प्राविधिक तथा भौतिक व्यवस्थापन तथा जनशक्ति व्यवस्थापन भवानी बक्स गण सिन्धुलीको रहेको छ । सिन्धुलीगढीमा जो पुग्दैन त्यहाँ भएका ऐतिहासिक महत्वका संरचना, कुराहरु हेर्न सेल्फीडाँडामा सकिने गरि चित्र तथा मूर्ति निर्माण गरिएको कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी सागर कुमार ढकालले बताए ।
चालु आर्थिक वर्षमा नै सेल्फीडाँडाको नाम पनि परिवर्तन गरिने समेत तयारी भएको ढकालले बताए । सेल्फीडाँडा सौन्दर्यकरण गर्ने क्रममा सिन्धुलीगढीको चित्र निर्माण गरिएको उनले बताए । भित्तामा बनाईएका चित्रहरुको माथिल्लो भागमा जस्ता पाताले निर्माण गरिएको नेपालको नक्सा समेत राखिने ढकालले बताए ।
सिन्धुलीगढीको बारेमा थाहा नपाउनेका लागि समेत जानकारी दिने र सिन्धुलीगढीमा पुग्न नसक्ने तर विपी राजमार्गमा यात्रा गर्नेलाई सिन्धुलीगढी बुझाउने उद्देश्यले भित्तेचित्र र मूर्तिहरु निर्माण गरिएको भवानी बक्स गण सिन्धुलीका गणपति बिजय कुँवरले बताएका छन । उनले नेपाली सेनाको प्राविधिक जनशक्ति मार्फत उक्त काम गरिएको बताए । अबको दश पन्ध्र दिनमा काम सकिने पनि कुँवरले जानकारी दिएका छन ।
साझा नेपाल साप्ताहिक






















