सिन्धुली । अत्यधिक गर्मी बढेसँगै कमलामाई नगरपालिका भित्रका विद्यालयहरु तीन दिन बन्द हुने भएका छन । नगरपालिकाले गर्मीका कारण बालबालिका बिरामी पर्न थालेको भन्दै बुधबारदेखि शुक्रबारसम्म विदा दिने निर्णय गरेको हो ।
मंगलबार सूचना प्रकाशित गरि नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाएको हो । प्रतिकुल मौसमका कारण बालबालिकालाई पठनपाठनमा अफ्ट्यारो भई जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले वर्षे विदाबाट कट्टी हुने गरि नगर क्षेत्रभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई तीन दिन विदा दिईएको नगर प्रमुख उपेन्द्र कुमार पोखेरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मौसम अनुकुल हुने वित्तिकै विद्यालय सञ्चालन गर्न गराउन समेत सूचनामा आग्रह गरिएको छ ।
गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो तीनदिन यता सिन्धुलीमा अत्यधिक गर्मी बढेको छ ।





















