सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख नागरिक र पत्रकारको सुरक्षाको प्रमुख दायित्व राज्यको रहेको बताएका छन । उनले पत्रकारीता क्षेत्र संवेदनशिल रहेको बताउँदै पत्रकारको सुरक्षाको जिम्मेवारी राज्यसँगै नागरिक समाज र स्वयम् पत्रकारीता क्षेत्रको समेत रहेको बताए ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशको आयोजना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोग र प्रेस सेन्टर नेपाल सिन्धुलीको समन्वयमा शनिबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै लामाले पत्रकारीता जोखिम, प्रतिस्पर्धा भएको र नागरिकलाई सूसुचित गर्ने दायीत्व बोकेको क्षेत्र भएकाले सुरक्षाका लागि सबै जिम्मेवार रहने बताए ।
लामाले पत्रकार र पत्रकारीतालाई जोगाई राख्न स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारको उत्तिकै भूमिका रहेको भन्दै पत्रकार महासंघले सञ्चारमाध्यम र पत्रकारको आर्थिक सुरक्षाका लागि समेत समन्वय र पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पेशागत सुरक्षा र पेशागत प्रभावकारीताका लागि सञ्चार क्षेत्रका संस्थाहरु, सरकारी निकायहरुको जिम्मेवारी रहेको बताए । पत्रकारको आधारभूत सेवा सुविधाको ज्ञारेन्टी गर्न, नीति तथा कार्यक्रमहरुलाई अगाडि बढाउन भएका कमी कमजोरीलाई समिक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए ।
राज्यका निकायले समानुपातिक विज्ञापन प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता समेत रहेको उनले बताएका छन । पत्रकारहरुको आर्थिक सुरक्षाका लागि प्रणालीबाटै सम्बोधन गर्न आवश्यक रहेको शर्माले बताए ।
अहिलेको युग पत्रकारीता र सञ्चारको युग भएकाले सञ्चार र पत्रकारीता विनाको कुनै पनि पल परिकल्पना समेत गर्न नसकिने प्रजिअ शर्माले बताएका छन । समाचार लेखेकै कारण पत्रकारले असुरक्षित महसुस हुने बातावरण स्थानीय प्रशासनले बन्न नदिने प्रतिवद्धता समेत शर्माले जनाएका छन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले पत्रकारको सुरक्षाका लागि राज्य, नागरिक समाज र मिडियाको संयुक्त प्रयास आवश्यक रहेको बताएकी छिन । उनले राज्यले कानुनी संरचना निर्माण गर्ने, दण्डहिनताको अन्त्य गर्नै कानुनी राज्यको स्थापना गर्ने र कार्यक्षेत्रमा खटिएका पत्रकारलाई सुरक्षा दिन आवश्यक रहेको बताईन । राज्य पक्षले सधै पत्रकारलाई प्रतिपक्षको भूमिकामा हेर्न चाहेको बताउँदै राज्यको उपेक्षाका कारण पनि सञ्चार क्षेत्र धरासायी बन्दै गएको र न्याय पाउन नसकेको बताएकी छिन ।
उनले पत्रकार र पत्रकारीता क्षेत्रले भौतिक, आर्थिक, सामाजिक र नैतिक सुरक्षाको चुनौती भोगीरहेको बताउँदै नागरिक समाज र मिडिया क्षेत्रको सहकार्य आवश्यक रहेको बताईन । पाण्डेले पत्रकारीता क्षेत्र सधै नागरिक अधिकार स्थापित गराउन भूमिका खेल्ने भएकाले नागरिक समाजले सधै समर्थन, संरक्षण, निगरानी र दवाका लागि सहयोग गर्नुपर्नेमा जोड दिईन ।
उनले मिडियाले आन्तरिक सुरक्षा नीति बनाउनुपर्ने, पेशागत संस्थाहरु पेशागत हितका लागि एकता हुनुपर्ने र पत्रकारीतामा नैतिक अभ्यास गर्नुपर्ने खाँचो समेत औल्याएकी छिन ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष धु्रव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबाबु अधिकारी, शिक्षक महासंघ सिन्धुलीका अध्यक्ष विष्णु फुयाँल, प्रेस चौतारी नेपालका अध्यक्ष विनय दाहाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुले नीतिगत एकरुपता नहुँदा र अस्वस्थ प्रतिस्पर्धाका कारण पत्रकारहरु समस्यामा रहेको समेत बताएका छन । यस्तै कार्यक्रमा बोल्ने पत्रकारहरुले विपदमा समाचार संकलनमा सुरक्षा साधनको अभाव हुँदा समस्या भएको, स्थानीय सञ्चारमाध्यमहरु आर्थिक संकटमा रहेको, पत्रकारहरुले न्युनतम पारिश्रमिक तथा सेवा सुविधा समेत पाउन नसकेको बताएका छन ।





















