सिन्धुली । ११५औं अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाभर मनाईएको छ । जिल्लाका नौ वटै स्थानीय तह र विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन । कमलामाई नगरपालिकाले प्रभातफेरी, मञ्चको कार्यक्रम तथा दीप प्रज्वलन गरि यो दिवस मनाएको छ ।
महिलाको हक, अधिकार, समानता, र सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका नेतृत्व तहमा रहेका महिलाहरु, विभिन्न संघ–संस्थाहरू, सहकारीहरु, टोल विकास संस्थाहरु, जनप्रतिनिधिहरु, कर्मचारी, प्रहरी तथा महिला समूहहरू, पत्रकारहरुको संयुक्त सहभागितामा कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा कमलामाई नगरपालिका अगाडिबाट प्रभातफेरी निकालिएको थियो । ¥याली बजार परिक्रमा गरि खुलामञ्चमा पुगेर मञ्चको कार्यक्रम गरिएको थियो । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा बागमती प्रदेशका उद्योण, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री तामाङले आठ मार्चले महिलाको स्थिति सुधार्न र सम्मानजनक जीवन यापन गर्नमा प्रेरित गरेको बताईन । उनले महिलाहरुलाई उद्यमशिलतामा जोडिएर घर, समाज र राज्यको अर्थतन्त्रमा टेवा पु¥याउन समेत आग्रह गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले समानताका विषयमा नेपाल धेरै अगाडि आईसकेको बताउँदै यसलाई ठूलो उपलब्धिका रुपमा लिन आग्रह गरे । उनले संविधान र प्रचलित कानुनमा राजनीतिक र प्रशानिक रुपमा महिलाका विषय प्रशस्त सम्बोधन भएको बताए । महिला समानतालाई पछ्याउन नेपालले समताको अवधारणा सहित आरक्षणको व्यवस्था गरेको र व्यवहारमा समानता ल्याउने प्रयास भईरहेको बताए ।
कार्यक्रममा महिला नेताहरु मिथिला फुयाँल, पार्वती भट्टराई लगाएतले महिलाका विषय कानुन र संविधानमा लेखिए पनि व्यवहारमा कार्यान्वयनमा ल्याउन चुनौती भएको बताए । उनीहरुले आर्थिक, सामाजिक, तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता अझै बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले मार्च ८ र महिला र बालिकाका अधिकारका सवालमा अवधारणापत्र प्रस्तुत गरेकी थिईन भने कमलामाई नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख इन्दिरा थापाले स्वागत गरेकी थिईन । कार्यक्रममा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेलाका सहजकर्ता सिता पाण्डेले मेलाको बारेमा जानकारी गराएकी थिईन । कार्यक्रमको सहजकीकरण सावित्रा रेग्मीले गरेकी थिईन ।
यस्तै कमलामाई नगरपालिकाको आयोजनामा साँझ लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले सबै महिलाहरुले यो दिवसलाई महिला अधिकार र महिला आन्दोलनको इतिहासको स्मरण गर्दै कार्ययोजना बनाएर अघि बढ्ने दिनका रुपमा लिन आग्रह गरिन ।
























