सिन्धुली । गुणस्तरहिन चामल रिपोलिसिङ र रिप्याकेजिङ गरि बजार पठाउने न्यु डोकानिया ब्रदर्श वर्दिवास १ महोत्तरीलाई जिल्ला बजार अनुगमन समितिले अढाई लाख जरिवाना गरेको छ । विहिबार समितिले न्यू डोकानियाका प्रोपाईटर सुधिर अग्रवाललाई प्रादेशिक व्यापार व्यवसाय सम्बन्धि ऐन २०७६ बमोजिम २ लाख पचास हजार जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव ढकालले बताएका छन ।
असोज २ गते कमलामाई नगरपालिका वडा नं. ६ राममाढीमा रहेको थापा कृषि सामग्री विक्री केन्द्र (मिल) मा रिपोलिसिङ र रिप्याकेजिङ गरि चामल विक्रीका लागि तयार गर्दै गर्दा अनुगमन समितिले गुणस्तरहिन चामल बरामद गरि नष्ट गरेको थियो ।
मिलबाट किरा (घुन) लागेको, धुलै धुलो भएको चामललाई रिपोलिसिङ र रिप्याकेजिङ गर्दै गर्दा न्यु डोकानिया ब्रदर्श बर्दिबासको ३० केजीको ५५ बोरा, २० केजीको ११ बोरा चामल ६६ बोरा चामल, रिप्याकेजिङ मेसिन, ४९ वटा खाली बोरा बरामद गरेको थियो ।
ढकालका अनुसार अनुगमन टोलीले रिपोलिसिङ गर्दा निस्केको २२ केजी चामलको धुलो, बोरा सिलाउने मेसिन समेत बरामद गरेको थियो ।
यस्तै अनुगमनका क्रममा उक्त मिलबाट श्रृष्टि नाम लेखिएको ३१ वटा र सर्लाही टाईगर नाम लेखिएको १८ वटा गरि ४९ वटा खाली बोरा समेत बरामद भएको थियो । बरामद गरिएको गुणस्तरहिन चामल, बोरा र धुलो डम्पिङ साईडमा लगि सोहि दिन नै नष्ट गरिएको थियो ।
अनुगमनमा प्रहरी, प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली लगाएतको सहभागिता रहेको थियो ।



















