सिन्धुली । जिल्लाका बाढी प्रभावित चार स्थानीय तहमा करीब त्रियासी लाख बराबरको राहत वितरण गरिएको छ । असोज ११ र १२ गतेको बाढी पहिरोका कारण मृत्यु भएका तथा घरबास विहिन भएका पीडितहरुलाई उक्त राहत वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिएका छन ।
उनका अनुसार खाद्य तथा गैह्र खाद्य सामग्री तथा नगद गरि ८२ लाख ९१ हजार ८ सय ३१ रुपैंया बराबरको राहत वितरण गरिएको हो ।
सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरु, नीजि क्षेत्र, राजनीतिक क्षेत्र लगाएतले उपलब्ध गराएको राहत वितरण गरिएको शर्माले जानकारी दिए ।
राहत वितरणमा एकद्धार प्रणाली लागु गरि जिल्ला स्तरीय राहत वितरण संयन्त्रको रोहवरमा राहत वितरण गरिएको उनले बताए । शर्माका अनुसार सुनकोशी र रोशी नदीको बाढीबाट प्रभावित भएका सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिका तथा बागमती नदीको बाढीका कारण पीडित भएका हरिहरपुरगढीका नागरिकले उक्त राहत पाएका छन ।
हालसम्म ८ सय ६३ लाभग्राहीले खाद्य तथा गैह्र खाद्य सामग्री राहत प्राप्त गरेका छन । यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बाढी पहिरोबाट मृत्यु भएका २ जनाको परिवारलाई दुई दुई लाख नगद राहत समेत उपलब्ध गराई सकेको छ ।





















